बिहिबार, बैशाख ०६, २०८१

पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईको नेपालमा भिरबाट लडेर मृत्यु

खोटाङ । नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष पत्रकार ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । काठमाडौँबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको हो ।

गाडी रोकेर दिसापिसाब गर्न भन्दै पाखामा जानेक्रममा भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए । ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष पनि हुन् । उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदैआएको छ ।

पत्रकार राईको लडेर मृत्यु भएको विषयमा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई बेलुका ७ बजे खबर पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शाहको नेतृत्वमा खटिएका प्रहरीले राति २ बजे शव जिल्ला अस्पताल पुर्‍याएको थियो ।

राईलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको मेडिकल सुपरिटेण्डेण्ट डा।वैभव मल्लिकले पुष्टि गरेका छन् । धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताए । पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए ।

नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुन् ।