बुधबार, साउन २५, २०७९

चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आज अपरान्ह नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले खोपलाई काठमाडौं ल्याएको छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो ।

पहिलो पटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो । यसअघि एक भायलमा दुई डोज मात्र हुन्थ्यो जसले एक खेपमा ८ लाख भायल ल्याउने गरिएको थियो । अहिले चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ । जसले गर्दा एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो ।

यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका खोप आइसकेको छ।

आगामी असोजमा गाभी संयन्त्रमार्फत १ लाख डोज फाइजर खोप ल्याइने भएको छ भने वर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने जनाइएको छ ।

%d bloggers like this: