तनहुँ कारागारमा दुई वर्षदेखि स्वास्थ्यकर्मी विहीन

काठमाडौं । तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ ।
कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरुले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएका हुन् ।

विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मी विहीने छ । अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो ।
“यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिकामा सरुवा भएपछि दुई वर्षदेखि कारागार स्वास्थ्यकर्मी विहीन बनेको छ । यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ,” उहाँले भन्नुभयो, “अन्यत्रसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हतकडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन् ।”

कारागारमा हाल एक सय ११ थुनुवा र एक सय ७५ कैदीबन्दी गरी दुई सय ८६ छन् । कारागारमा नयाँ भवन बनेकाले कैदीबन्दी राख्न सहज भएको छ । “गर्मी, चिसो मौसममा कैदीबन्दी बिरामी भइराख्छन्, कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति हुन सके सहज हुन्थ्यो,” उहाँले भन्नुभयो, “सम्बन्धित निकायमा पटक पटक यस बारेमा जानकारी गराएका छौ ।”
कारागार व्यवस्था विभाग र प्रमुख जिल्ला अधिकारीलाई यस बारेमा जानकारी गराइएपनि हालसम्म केही सम्बोधन नभएको कारागारले जनाएको छ ।

कारागारमा गत वर्ष नयाँ भवन निर्माण भएकाले त्यस यता कैदीबन्दीमा छाला रोगको समस्या भने नदेखिएको उहाँले बताउनुभयो । पर्याप्त खानेपानीको व्यवस्था भएकाले कैदीबन्दीले सरसफाईमा ध्यान दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: