शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनएको दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलनका लागि नेपाल सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।
परराष्ट्र मन्त्रालयले गठन गरेको समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरु सदस्य रहेका छन्।
यसैगरी, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु पनि समितिमा रहने छन्।
विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, पुँजी, प्रविधि, संजाल र पहुँचलाई मुलुकको आर्थिक, सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई सरकारले उच्च प्राथमिकता दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुई वर्षको अन्तरालमा नेपालमा आयोजना हुने एनआरएनको दशौं विश्व सम्मेलन आगामी २३ देखि २५ अक्टोबरसम्म (कात्तिक ६ देखि ८ गतेसम्म) हुँदैछ।