शुक्रबार, बैशाख ०७, २०८१

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानकाे नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौं ।इरानको नयाँ राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रईसी निर्वाचित भएका छन् । राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ६२ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । साठी वर्षीय धर्मगुरु रइसीले आफ्नो व्यावसायिक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गर्दै बिताएका छन्। सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि उनले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ति पाएका थिए ।

उनी आफूलाई भ्रष्टाचार विरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वकर्ताको रुपमा चिनाउँछन् । इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ भने राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ।

अब रइसीको नेतृत्वमा इरानमा कट्टरपन्थी एउटा शुद्धतावादी इस्लामिक सरकार गठन गर्ने कोसिस हुने अनुमान गरिएको छ । त्यसको अर्थ भनेको सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रण हुने बिबिसीले लेखेको छ । कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन् । तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनुपर्ने पक्षमा रहेको ठानिन्छ ।