बिहिबार, बैशाख १३, २०८१

पहिलो डोजमात्र खोप लगाएकाबाट भाइरस फैलिने जोखिम उच्च

काठमाडौं । भारतका डाक्टर तथा वैज्ञानिकहरुले कोभिड(१९ विरुद्धको खोपको पहिलो डोजमात्र लगाएकाहरुबाट अन्य व्यक्तिहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन्।
पहिलो डोजको खोप लगाएका वा पूर्ण खोप लगाएको पर्याप्त अवधि नपुगेका मानिसहरु भाइरसका सुशुप्त बाहकको रुपमा रहने र उनीहरुले खोप नलगाएका मानिसहरुमा भाइरस सार्ने जोखिम रहने डाक्टरहरुको भनाइ छ।खोप लगाएको केही दिनपछि नै कोभिडको लक्षण देखिने र परीक्षण गर्दा पोजेटिभ देखिने थुप्रै घटनाहरु पाइएका छन्। डाक्टरहरुका अनुसार यसरी लक्षण देखिएका संक्रमितहरु भन्दा लक्षण नै नदेखिने खोप लगाइसकेका संक्रमितहरु अन्य मानिसका लागि सबैभन्दा ठूलो जोखिमको रुपमा रहने गरेका छन्। खोप लगाएपछि भाइरस लाग्दैन र सर्दैन भन्ने मानसिकता हुने हुँदा उनीहरुले पर्याप्त सावधानी नअपनाउने र सोही कारणले उनीहरुबाट अन्य व्यक्तिमा भाइरस सर्ने सम्भावना अत्यधिक हुने गर्दछ।
खोप लगाइसकेपछि पनि कोभिड संक्रमण देखिनुका विभिन्न कारण हुन सक्दछन्। इजरायलमा भएको एक अध्ययन अनुसार कोभिड १९ को खोप पूरा गरेका मानिसहरु सामान्य कोभिड भाइरसबाट सुरक्षित देखिएपनि नयाँ प्रकारको कोभिड भाइरसको संक्रमण देखिएको छ त्यस्तै खोप लगाउनेबित्तिकै मास्क, सेनिटाइजर तथा सामाजिक दूरीको बेवास्ता गर्ने अनि खोप केन्द्रमा खोप लगाउँदाखेरि नै पनि मानिसहरुलाई भाइरसको संक्रमण हुने गरेको छ। व्यक्तिले खोप लगाउनेबित्तिकै वा लगाउनु भन्दा केही अगाडि हुने त्यस्तो खालको संक्रमण खोप लगाएको केही दिनपछि मात्र देखिन्छ।
अस्पतालमा भर्ना भएका कोभिडका सिकिस्त बिरामीमध्ये अधिकांश खोप नलगाएकाहरु रहेका छन्। उनीहरुको संक्रमणको स्रोत अनेक हुनसक्छ। तर डाक्टरहरुका अनुसार उनीहरुमध्ये कतिपयमा खोप लगाइसकेका आफ्नै परिवारका सदस्यहरुबाट भाइरस सरेको छ। खोप लगाइसकेका तर संक्रमित बनेका त्यस्ता व्यक्तिहरुमा लक्षण नदेखिएको तर उनीहरुले धेरै मानिसहरुलाई भाइरस सारेको हुनसक्ने डाक्टरहरुको ठम्याइ छ।डाक्टरहरुका अनुसार दुबै डोज खोप लगाएको अवस्थामा पर्याप्त मात्रामा कोभिडविरुद्धको एन्टिबडी शरीरमा उत्पादन हुनका लागि कम्तीमा पहिलो डोज लगाएको ६ देखि ८ हप्ता सम्म लाग्दछ। त्यसैले यो अवधिमा खोप लगाएका व्यक्तिमा समेत संक्रमणको जोखिम हुन्छ र त्यसरी संक्रमण भएमा अधिकांश व्यक्तिमा लक्षण देखिँदैन। यस्तो अवस्थामा उनीहरुले आफूलाई संक्रमण भएको थाहा पाउँदैनन् र ढुक्कसँग आफू आसपासका अन्य मानिसहरुलाई भाइरस सारिरहेका हुन्छन्।
विज्ञहरुका अनुसार खोप लगाउनेबित्तिकै आफूलाई सुरक्षित ठानेर सावधानी नअपनाउनु जोखिमयुक्त हुन्छ। वास्तवमा भ्याक्सिनले भाइरसको प्रसार रोक्ने होइन। यसले त व्यक्तिको भाइरस प्रतिरोधी क्षमता बढाउने हो र भाइरस संक्रमणको जोखिम तथा हानी घटाउने हो। त्यसैले खोप लगाइसकेका मानिसहरु तुलनात्मक रुपमा आफू सुरक्षित हुने भएपनि अरुका लागि चाहिँ जोखिमपूर्ण नै हुन्छन्।
भाइरस विज्ञका अनुसार हामीकहाँ लगाइने खोपहरु पहिलो र दोस्रो डोजमा दिइने खोप एउटै हुन्छ। यस्तो अवस्थामा पहिलो र दोस्रो डोज निश्चित समयको अन्तरमा दिनै पर्छ। अन्यथा खोपले शरीरमा भाइरसविरुद्धको प्रतिरोधी एन्टीबडी उत्पादन गर्दैन।
विज्ञका अनुसार पहिलो डोजको १४ दिनपछि शरीरमा एन्टीबडी उत्पादन उच्चतम विन्दुमा पुग्दछ। यदि यसबीचमा बुस्टरको रुपमा रहने दोस्रो डोज दिइएन भने एन्टीबडी प्रतिक्रिया घट्न थाल्दछ। दोस्रो डोजले वास्तवमा हामीलाई लामो समयको लागि उच्चतम एन्टीबडी रेस्पोन्स प्रदान गर्दछ अनि संक्रमणबाट जोगाउँदछ। यद्यपि हाल कोभिड खोपका दुई डोजबीच सामान्यतया २८ दिनको फरक पारिन्छ। त्यसैले यस बीचमा सम्बन्धित व्यक्ति आफ्नो लागि मात्र होइन अरुको लागि समेत निकै सचेत हुनुपर्छ।विज्ञका अनुसार पूरा डोज खोप नलगाएका वा खोपबीचको अवधि समेत उपयुक्त नभई पर्याप्त प्रतिरोधी एन्टीबडी नभएका व्यक्तिहरु म्युटेन्ट भाइरस सँग लड्न असमर्थ हुन्छन् र लक्षणविहीन भएपनि उनीहरुले अन्य व्यक्तिलाई भाइरस सार्ने जोखिम उच्च हुन्छ।त्यसैले पहिलो डोजमात्र लगाएका मानिसहरु आफ्नै व्यवहारका कारण आफू पनि संक्रमित हुने र अरुलाई पनि सार्ने जोखिम उच्च हुने ठम्याइ शोधकर्ताको छ। मानिसको आनीबानीसम्बन्धी अध्ययन गर्ने शोधकर्ताहरुका अनुसार अगाडि मास्क, सामाजिक दूरी तथा सेनिटाइजर जस्ता सावधानीका उपाय अपनाउने मानिसहरु समेत भ्याक्सिन लगाइसकेपछि जोखिमपूर्ण व्यवहारमा संलग्न हुने गरेको पाइएको छ।
वैज्ञानिकहरुका अनुसार मानिसको यस्तो व्यवहारलाई प्लेजम्यान इफेक्ट भनिन्छ। उक्त सिद्धान्तका अनुसार जब मानिसमा सुरक्षाको अनुभूति धेरै हुन्छ तबउसमा जोखिम मोल्ने भोक पनि बढ्दै जान्छ। मानिसको त्यस्तो जोखिम मोल्ने भोकले अरुलाई चाहिँ हानी पुर्‍याउँछ।