काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्श आत्मसात् गर्न आवश्यक रहेको बताएकी छन् ।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आइतबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उनले नेता अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको उल्लेख गर्दै उनको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन् ।
पूर्व राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक तथा बहु सांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबिचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबैले संयमता अपनाउनुपर्नेमा जोड दिइन् ।
उनले अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिन् ।
पूर्व राष्ट्रपति भण्डारीले आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो सङ्घर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उनलाई सम्झनु भनेको केवल इतिहासको स्मरण गर्नु मात्र नभई उनका आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताइन् ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो । साथै, हाजिरी जवाफ प्रतियोगितामा विजयी सहभागीलाई पुरस्कृत गरिएको थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले नेता अमात्यले प्रतिष्ठित र सहज जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर तथा उत्पीडित समुदायको हक र अधिकारका लागि सङ्घर्षको कठिन बाटो रोजेको उल्लेख गरे ।

