बिहिबार, चैत १५, २०८०

काभ्रेमा सक्रिय संक्रमितको संख्या ९१० पुग्यो,बनेपामा मात्र ३५९

काभ्रेपलाञ्चोक । कोरोना भाईरस सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा बिहीबार थप १६५ सङ्क्रमित भएका छन् ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र डिसीसीएमसीका अनुसार बुधबार १५८ मा सङ्क्रमण भएको थियो भने अघिल्लो दिन जिल्लामा ८२ मा सङ्क्रमण पुष्टि भएको थियो । काभ्रेपलाञ्चोकका २२ सङ्क्रमित डिस्चार्ज भएको केन्द्रले जनाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म काभ्रेपलाञ्चोकका कूल ९१० सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३५९, धुलिखेलमा १८३, पनौतीमा १८८, पाँचखालमा ६७, नमोबुद्धमा ३३, मण्डनदेउपुरमा २२ तथा रोशी गाउँपालिकामा २०, चौँरीदेउरालीमा नौ, तेमालमा पाँच र भुम्लुमा सात, खानीखोलामा दुई, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित छन् ।

जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ३९ दशमलव ४५ प्रतिशत सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार सङ्क्रमितमध्ये ८७८ होमआइसोलेशन तथा ३२ अस्पताल आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ५६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार जिल्लामा ‘कन्ट्याक्ट ट्रेसिङ’को दायरा बढाइएको छ ।