शुक्रबार, चैत १६, २०८०

जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ७३ हजार नाघ्यो

टोकियो । जापानमा कोरोना भाइरस संक्रमणको चौथो लहरमा संक्रमित बृद्धि हुन थालेको छ । मुख्य शहरी क्षेत्रहरु राजधानी टोकियो र आसपासका प्रान्त, ओसाका, ह्योगो, ओकिनावा, मियाजाकी, फुकुओका, होक्काइदो लगायतका क्षेत्रमा संक्रमणदर तिब्र बृद्धि हुन थालेको हो । राजधानी टोकियो र ओसाका प्रिफेक्चरमा दैनिक संक्रमितको संख्या प्रतिस्पर्धात्मक शैलीमा बृद्धि भइरहेको छ ।

दोस्रो पटक लगाइएको आपतकाल हटेको हप्तादिन नपुग्दै ओसाका र टोकियो आपतकालिन संकट तर्फ उन्मुख भइसकेका छन् भने अन्य क्षेत्र संकटोन्मुख देखिन थालेका छन् ।
कोरोना भाइरसको संक्रामक प्रकारको बृद्धिले निकट भविष्यमा महामारीले विपदको रुप लिने हो कि भन्ने चिन्ता थप बढ्न थालेको छ । यस्तोमा ओसाकाले कडा नियम सहित आपतकालिन अवस्थाको झल्को दिन थालेको छ भने टोकियोमा पनि अनुरोध पालना र उल्लंघन कर्तामाथि जरिवाना तिराइन थालिएको छ ।

फुकुओका, ओकिनावा, होक्काइदो लगायत क्षेत्रमा रात्रिकालिन व्यवसायमा स्थानिय सरकारले अनुरोध सहित नागरिकहरुलाई विशेष काम बाहेक बाहिरि यात्रा नगर्न विशेष अनुरोध जारी गरेका छन् ।
जापानमा हप्तादिन यता दैनिक कोरोना संक्रमितको संख्या औषतमा २ हजार भन्दा बढी भइरहेको छ । बरु संक्रमण घट्नुको साटो बढेको तथ्यांकले देखाउँछ ।

मार्च महिनाको अन्तिम दिन ३० तारिख पनि २,०७९ जना नयाँ कोरोनाका बिरामी थपिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । यस अवधिमा ३३ जना बिरामीले ज्यान गुमाएका छन् ।

विगतमा जस्तै संक्रमण र निधनको केन्द्र भाग मुख्य शहरहरु नै रहेका छन् । निधन उच्च पाइएकामा टोकियो १०, ओसाका ४, आईची, खानागावा र शिजुओखामा ३ जना रहेको छ । संक्रमण तर्फ ओसाका ४३२, टोकियो ३६४, ह्योगो १७६, साइतामा १०७ रहेको छ ।

जापानमा हालसम्म कुल संक्रमितको संख्या ४ लाख ७३ हजार नाघेको र कोरोना संक्रमणबाट ९ हजार १ सयभन्दा बढीको निधन भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

संक्रमितको संख्या बृद्धिसँगै गम्भिर बिरामीको संख्यामा बृद्धि भएर ३६८ पुगेको छ । कोरोना संक्रमित मध्ये हालसम्म ४ लाख ४४ हजार भन्दा धेरै व्यक्ति निको भएर डिस्चार्ज भइसकेकोछ ।