शुक्रबार, चैत १६, २०८०

ओकिनावा प्रिफेक्चरद्वारा रात्रिकालिन व्यवसाय छोट्याउन अनुरोध

जापान । कोरोना संक्रमितको संख्यामा लगातार बृद्धिपछि ओकिनावा प्रिफेक्चरले रात्रिकालिन व्यवसाय छोट्याउन अनुरोध जारी गरेको छ ।
कोभिड-१९ संक्रमितको संख्यामा तीव्र वृद्धिको बिरुद्ध कदम चाल्दै ओकिनावा प्रान्तले नाहा शहरसहित ओकिनावाको मुख्य टापुको केन्द्रीय र दक्षिणी भागमा २० नगरपालिकाहरूको लागि रेष्टुरेन्टहरूको व्यवसाय समय घटाउन अनुरोध गरेको छ । यस्तो अनुरोध अप्रिल १ बाट तीन हप्ताको लागि गरिएको छ ।
मार्च १ तारिखबाट ओकिनावाले लगाएको आफ्नै आपतकाल हटाएपछि खाना खाने र पिउने ठाउँहरूमा संक्रमण फैलिएको छ । विशेषगरी २० देखी ४० बर्ष उमेर समुहका युवामा संक्रमण बढी देखिएको छ ।

संक्रमण बिरुद्धको प्रतिक्रियामा प्रान्तले टापुको मध्य र दक्षिणी भागमा २० नगरपालिकालाई लक्षित गर्दै खाने र पिउने स्थानमा अप्रिल १ देखी २१ तारिखसम्म तीन हप्ता व्यवासय छोटो बनाउन अनुरोध गरेको छ ।
रात्रिकालिन समयमा व्यवसाय ८ बजे वा ढिलोमा ९ बजे बन्द गर्न गरिएको अनुरोध पालना गर्ने त्यस्ता रेष्टुरेण्टजन्य व्यवसायहरुलाई ओकिनावा प्रान्तले एकमुष्ट नगद ८ लाख ४० हजार येन अनुदान उपलब्ध गराउने छ ।
ओकिनावा प्रान्तले गत महिनाको २८ तारिखसम्म व्यापार घण्टा घटाउन अनुरोध गरेको थियो ।