शुक्रबार, बैशाख १४, २०८१

प्रतिनिधिसभा बैठक : प्रचण्ड-माधव पक्षद्वारा संसद बैठक बहिस्कार

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् ।
बैठकको सुरुमा नै प्रचण्ड माधव पक्षका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड-माधव पक्षका सांसदहरूले उठेर विरोध जनाएका छन् । सभामुखले सांसद भीम रावललाई बोल्न समय दिएका छन् । रावलले सभामुखले दिएको ३ मिनेटभन्दा बढी समय लाग्न सक्ने भन्दै बोल्न शुरू गरेका छन् ।

रावलले दिवंगत सांसद एवं पूर्व सांसदहरुलाई शोक प्रस्ताव पारित गर्ने बाहेकका कार्यसूची नराख्न माग गरेका छन् । रावलले बोल्दै गर्दा ओली पक्षका सांसदहरुले नियमापत्ति गरेका छन् ।