सोमबार, साउन २५, २०८३

एनआरएनएका सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशःसम्बोधन गर्ने गणेश पराजुलीको प्रतिबद्धता

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने जिकिर गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथिसमेत रहनुभएका सांसद पराजुलीले एनआरएनएका मागहरूलाई राज्यका तर्फबाट तत्काल सम्बोधन गर्न नसकिएको विषय स्वीकार गर्दै क्रमशः सबै माग पुरा हुने बताउनुभएको हो ।
डब्लिनमा सुरु भएको दुईदिने क्षेत्रीय सम्मेलनको उद्घाटन प्रमुख अतिथि माननीय गणेश पराजुली, बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले वर्तमान कार्यसमितिले फाटेको मन जोड्दै संस्थामा एकता कायम गर्ने मुख्य काम आयरल्यान्डबाटै सुरु गर्नुभएको बताउनुभएको थियो। उहाँले आगामी दिनमा नयाँ पुस्ता, महिला, सरकार तथा नेपाल चेम्बर अफ कमर्सलगायतका निकायसँग जोडिने कार्यक्रमलाई तीव्रता दिइने जानकारी दिनुभएको थियो। साथै, ‘ग्लोबल नलेज कन्फरेन्स’लाई संस्थाले प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको थियो।
यस्तै, बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहनुभएका नेपालीहरूले नेपालमा रहेका परिवार तथा सरकारलाई आर्थिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको बताउनुभएको थियो। उहाँले दोस्रो र तेस्रो पुस्ता विस्तारै नेपालसँगको सम्बन्धबाट टाढिँदै गएको तथा चौथो पुस्ता झन् टाढिँदै गएको उल्लेख गर्दै नयाँ पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा एनआरएनएले गम्भीर भएर सोच्नुपर्ने समय आएको बताउनुभएको थियो।
सरकारले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणा अघि सारेको उल्लेख गर्दै उहाँले विदेशमा आर्जन गर्नुभएको ज्ञान, क्षमता, अनुभव र पुँजीलाई नेपालसँग जोड्न परराष्ट्र मन्त्रालय निरन्तर लागिपरेको बताउनुभएको थियो।
परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले गैरआवासीय नेपाली र नेपालको सम्बन्ध केवल रेमिट्यान्समा मात्र सीमित हुन नहुने बताउँदै नेपालमा लगानी भित्र्याउन विश्वास पहिलो सर्त रहेको उल्लेख गर्नुभएको थियो। उहाँले सरकारले गैरआवासीय नेपालीलाई कानुनी संरक्षण दिन तयार रहेको बताउँदै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
उहाँले एनआरएनएको वास्तविक पुँजी पैसा मात्र नभई विदेशमा रहनुभएका नेपालीहरूको अनुभव, ज्ञान र क्षमता पनि रहेको बताउनुभएको थियो। साथै, सरकारले अब ‘रिटर्न टु नेपाल’ भन्दा पनि ‘कनेक्ट टु नेपाल’को अवधारणामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। एनआरएनएले बैठक बस्ने र सरकारसँग माग राख्ने परम्पराबाट माथि उठेर आर्थिक, सामाजिक तथा ज्ञान हस्तान्तरणलगायतका विषयलाई आफ्ना मुख्य एजेन्डा बनाउनुपर्ने उहाँको भनाइ थियो।
समारोहमा एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पठाउनुभएको शुभकामना सन्देशको भिडियोसमेत प्रस्तुत गरिएको थियो।
एनआरएनए आयरल्यान्डका अध्यक्ष चेतराज वलीले ऐतिहासिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण एनआरएनए अभियानकर्ताहरूलाई धन्यवाद दिनुभएको थियो।

यसमा तपाईको प्रतिक्रिया