काठमाडौं । सभामुख डीपी अर्यालले एमालेकी सांसद गंगादेवी श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको आरोप लगाएकी थिइन्। जेनजी आन्दोलन अगाडि नै योजना बनेर लामिछानेको निर्देशनमा आगो लगाइएको उनको भनाइ थियो । केही दिनअघि सर्वोच्चको तीन वटा कम्युटर जलेको घटनालाई पनि उनले भदौ २४ कै निरन्तरताको रुपमा व्याख्या गरेकी थिइन् ।
‘जेनजी आन्दोलनमा जलाउन बाँकी कुन कुन फायल रहेछ र कोठा छानी छानी आगो लाग्दैछ ? त्यो के फायल थियो र पटक पटक जल्छ ?’ उनले अगाडि भनेकी थिइन्, ‘ती फाइल के थिए र किन जलाउन खोजिँदैछ भनेर संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्दछु ।’
सभामुखले सांसद श्रेष्ठले सदनमा बोलेको जेनजी आन्दोलन अगाडि भन्ने शब्ददेखि ती फाइलहरूसम्म भन्ने वाक्य हटाउन निर्देशन दिएका हुन् । श्रेष्ठले सभापति लामिछानेमाथि आरोप लगाएपछि रास्वपा सांसद लालविक्रम थापाले नियमापत्ति जनाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए।

