बुधबार, साउन २७, २०८३

सरकारी सेवाका निवेदन अब एउटै ढाँचामा, ७ दिनभित्र सेवा सूची तयार गर्न निर्देशन

काठमाडौं । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मागर्दशन जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ जारी गर्दै सबै सरकारी कार्यालयमा यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।

सरकारी कार्यालयबाट प्रदान गरिने समान प्रकृतिका सेवाका लागि फरक–फरक निवेदन ढाँचा प्रयोग भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी, सेवाग्राहीमैत्री तथा सूचना प्रविधिमा आधारित बनाउन मार्गदर्शन जारी गरिएको कार्यालयले जनाएको छ ।

मार्गदर्शनअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी तथा सार्वजनिक निकायले आफूले प्रदान गर्ने प्रत्येक सार्वजनिक सेवाका लागि आवश्यक निवेदनको छुट्टाछुट्टै ढाँचा तयार गरी लागू गर्नुपर्नेछ ।

निवेदनको ढाँचा सरल, स्पष्ट र नेपाली भाषामा तथा आवश्यकताअनुसार अङ्ग्रेजी भाषामा समेत तयार गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्ता ढाँचालाई डिजिटल रूपमा समेत प्रयोग गर्न सकिने गरी तयार गर्नुपर्नेछ ।

निवेदनको ढाँचामा सेवा प्रदान गर्ने कार्यालयको नाम, निवेदनको विवरण, माग गरिएको सेवा, आवश्यक स्वघोषणा, मिति, निवेदकको हस्ताक्षर, संलग्न गर्नुपर्ने कागजातको सूची तथा कार्यालय प्रयोजनका लागि आवश्यक अन्य विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।

मार्गदर्शन लागू भएको मितिले सात दिनभित्र प्रत्येक सरकारी कार्यालयले कार्यालयबाट प्रवाह हुने प्रत्येक सेवाको सूची तयार गर्नुपर्नेछ । त्यसपछि प्रत्येक सेवाका लागि निवेदनको ढाँचा तयार गरी कार्यालय प्रमुखबाट स्वीकृत गराउनुपर्नेछ ।

स्वीकृत ढाँचा कार्यालयको सूचना पाटी तथा वेबसाइटमा प्रकाशन गर्नुका साथै सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ ।

सरकारले कागजरहित सेवा प्रवाहलाई मूर्तरूप दिन प्रत्येक कार्यालयले निर्धारित निवेदनको ढाँचा आफ्नो वेबसाइट, क्यूआर कोड, विद्युतीय फाराम तथा डाउनलोड गर्न सकिने पीडीएफलगायत नवीनतम प्रविधिको प्रयोग गरी निवेदनको ढाँचा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

प्रत्येक कार्यालयले सेवाग्राहीलाई निवेदन तयार गर्न, फाराम भर्न तथा आवश्यक कागजात र सेवासम्बन्धी विषयमा जानकारी दिन ‘सेवाग्राही सहायता कक्ष’ स्थापना गर्नुपर्नेछ । सहायता कक्षबाट प्रदान गरिने सेवा निःशुल्क हुनुपर्नेछ ।

सेवाग्राहीलाई निवेदन तयार गर्ने, फाराम भर्ने वा आवश्यक कागजात मिलाउने नाममा कार्यालय परिसर वा वरिपरि अनधिकृत रूपमा शुल्क लिने वा नलिने व्यक्ति वा संस्थालाई प्रोत्साहन नगर्न पनि मार्गदर्शनले निर्देशन दिएको छ ।

कार्यालय परिसरमा सेवाग्राहीको पहुँचमा अवरोध पुर्याउने, अनधिकृत रूपमा सेवा सहजीकरण गर्ने वा आर्थिक लाभका लागि मध्यस्थता गर्ने कार्यलाई निरुत्साहित गर्न आवश्यक व्यवस्थापकीय तथा सुरक्षा उपाय अपनाउनुपर्नेछ ।

त्यस्तै, सेवाग्राहीले आफ्नै निवेदन डाउनलोड, भर्न, प्रिन्ट वा अनलाइन पेस गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ । आवश्यक पर्ने कम्प्युटर, ट्याबलेट वा डिजिटल किओस्कको व्यवस्था गर्नुपर्ने तथा आफैं सेवा लिन नसक्ने सेवाग्राहीलाई सेवाग्राही सहायता कक्षबाट प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेछ ।

मार्गदर्शनको अनुगमन राष्ट्रिय सतर्कता केन्द्र तथा केन्द्रले तोकेको सतर्कता अधिकारीबाट हुने व्यवस्था छ । अनुगमनका क्रममा स्थलगत निरीक्षण, अभिलेख परीक्षण, विद्युतीय प्रणालीको परीक्षण तथा सेवाग्राहीको गुनासो र प्रतिक्रियालगायत माध्यमबाट कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न सकिनेछ ।

प्रत्येक कार्यालयले मार्गदर्शन कार्यान्वयनसम्बन्धी प्रगति विवरण तीन–तीन महिनामा राष्ट्रिय सतर्कता केन्द्रले तोकेको ढाँचामा तयार गरी केन्द्रमा पठाउनुपर्नेछ । प्राप्त प्रतिवेदन तथा अनुगमनका आधारमा राष्ट्रिय सतर्कता केन्द्रले आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिन सक्नेछ ।

मार्गदर्शन पालना नगर्ने, कार्यान्वयनमा लापरबाही गर्ने वा जानाजान अवरोध सिर्जना गर्ने कार्यालय वा जिम्मेवार पदाधिकारीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्र वा तोकिएको अधिकारीले प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय वा पदाधिकारीलाई सम्बन्धित मन्त्रालयले प्रोत्साहन तथा सम्मान गर्न सक्नेछ ।

मार्गदर्शनअनुसार सरकारी कार्यालयले प्रदान गर्ने सेवाका लागि आवश्यक निवेदनको ढाँचा तथा सेवासम्बन्धी विवरण कम्तीमा वर्षमा एकपटक वा आवश्यकताअनुसार अद्यावधिक गर्नुपर्नेछ ।

कार्यान्वयनका क्रममा कुनै बाधा उत्पन्न भए सम्बन्धित मन्त्रालय, निकाय वा स्थानीय तहले आवश्यक निर्णय गरी त्यस्तो बाधा फुकाउन सक्ने व्यवस्था पनि गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया