काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भएर नागरिक तथा पार्टीका विभिन्न तहका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्नेछन्।
रास्वपाका अनुसार कार्यक्रमले नागरिकका गुनासा, समस्या, अपेक्षा र सुझावलाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्नेछ।कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा नागरिक संवाद हुनेछ। उक्त अवधिमा मन्त्रीले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्।
त्यसपछि साँझ ६ बजेदेखि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच नेतृत्व संवाद हुनेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ।
कार्यक्रममार्फत नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वय बढाउने लक्ष्य रास्वपाको छ। नागरिकका मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न साझा रणनीति निर्माण, मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या पहिचान गरी नीतिगत धारणा तय गर्ने तथा सरकार, संसदीय दल र पार्टी संगठनबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने कार्यक्रमका प्रमुख उद्देश्य रहेका छन्।
रास्वपाका सहमहामन्त्री असिम शाहका अनुसार लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो। यही मान्यतालाई व्यवहारमा उतार्न कार्यक्रम सुरु गर्न लागिएको हो।

