शुक्रबार, चैत १६, २०८०

नयाँ वर्षपछि पर्यटक आगमनमा सुधार,दुई महिनामा १८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । यद्यपि आगमन वृद्धिदर भने न्यून छ । अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० जना पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका छन् ।

तथ्यांकअनुसार एक महिनामा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल आएका छन् । यसबीचमा भारतबाट सबैभन्दा बढी संख्यामा पर्यटक आएका छन् । नेपाल र भारतबीच खुलेको सिधा हवाई सम्पर्क खुला भएसँगै भारतबाट पर्यटक आगमन वृद्धि भएको हो ।

नेपालले हवाईमार्गबाट आउने सबै भारतीयलाई पर्यटक मान्छ । तर, स्थलमार्गबाट आउने भारतीय भने पर्यटकमा गणना हुँदैनन् । दुई महिनामा भारतबाट मात्र ८७९१ जना पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०२० को यसै अवधिको तुलनामा भने निकै कम हो । सन् २०२० को फेब्रुअरी महिनामा मात्र नेपालले भारतबाट १४ हजार ८ सय ४० पर्यटकलाई स्वागत गरेको थियो ।

दुई महिनामा चीनबाट २ हजार ५८५ जना पर्यटक नेपाल आएका छन् । चीनबाट जनवरीको तुलनामा फेब्रुअरीमा आगमन घटेको तथ्यांकमा देखिएको छ । फेब्रुअरीमा चीनबाट मात्र ७ सय ८ जना पर्यटक नेपाल आएका छन् ।

तथ्यांकअनुसार पछिल्ला दिनमा अमेरिकी पर्यटकको आगमनमा भने उल्लेख्य वृद्धि भएको छ । जनवरीमा ८७४ जना अमेरिकी नेपाल आएकोमा फेब्रुअरीमा ११२० अमेरिकी पर्यटक नेपाल आए । दुई महिनाको अवधिमा अमेरिकाबाट १९९४ जना पर्यटक नेपालको भ्रमणमा आएका छन् ।

युरोपका सबै मुलुकबाट फेब्रुअरीमा ११४२ जना पर्यटक नेपाल आएका छन् । यूरोपको बेलायतबाट यो महिनामा ५२४ जना नेपाल आएका छन् । जनवरीमा बेलायतबाट १३६ जना पर्यटक नेपाल आएका थिए ।
जनवरीको तुलनामा फेब्रुअरी महिनामा हवाई यात्रुको संख्यामा समेत सामान्य वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार यो महिनामा कुल ५७ हजार ५ सय ५९ यात्रु नेपाल भित्रिएका छन् ।

नेपालबाट ४४ हजार १ सय ५२ यात्रु त्रिभुवन विमानस्थल हुँदै बाहिरिएका जनवरीमा ५६ हजार १ सय ४१ यात्रु भित्रिएका थिए । ४७ हजार २ सय ३८ यात्रु बाहिरिएको अध्यागमनको तथ्यांक छ । यद्यपि यो संख्या कोरोना महामारीभन्दा अगाडिको तुलनामा भने आधा भन्दा कम हो ।