संक्रमण नियन्त्रण बाहिर जान नदिन जापानमा पिसीआर परीक्षणको दायरा बृहत् गर्ने

टोकियो । जापान सरकारले कोरोना भाईरस संक्रमण नियन्त्रण बाहिर जान नदिन जापानमा पिसीआर परीक्षणको दायरा बृहत् गर्ने भएको छ ।

संक्रमितको संख्या बढेकोले सरकारले मार्च देखि शहरी क्षेत्रमा समुदायस्तरमा बृहत् परीक्षणको काम सुरु गर्ने भएको हो ।

यहाँको केन्द्रिय सरकारले टोकियो, ओसाका र अन्य उच्च संक्रमण देखिएका मुख्य शहरी क्षेत्रहरुमा प्रति दिन हजारौं पीसीआर टेस्ट गर्ने लक्ष्य राखेको छ । परीक्षणबाट संकलित जानकारीलाई भाइरस रोकथामको प्रभावकारी उपायहरुको विकास गर्न प्रयोग गरिने स्रोतले जानकारी दिएको छ ।

स्थानीय सरकारले हाल लक्षण देखिएका वा संक्रमित व्यक्तिसँग घनिष्ठ सम्पर्क भएका मानिसहरूलाई मात्र पीसीआर परीक्षणको लागि प्राथमिकता दिंदै आइरहेको छ ।

निजी कम्पनीहरूद्वारा संचालन गरिने यो परीक्षणको खर्च पूर्ण रूपमा केन्द्रिय सरकारले बेहोर्ने बताइएको छ ।

परीक्षण एयरपोर्ट, मानिसको संख्या धेरै र आवतजावत धेरै हुने स्थान जस्तै शहरका केन्द्रहरू, कम्पनीहरू र विश्वविद्यालयहरूमा हुने अपेक्षा गरिएको छ ।

साथै हुलाक मार्फत प्राप्त हुने नमुनाहरू (परीक्षण किट प्रयोग गरेर संकलन गरिएको हुनु पर्ने) पनि स्वीकार गरिनेछ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया