अनेसास जापानद्वारा आयोजित कविता प्रतियोगिताका ३ उत्कृष्ट कविता

जापान । अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरद्वारा आयोजित तेस्रो जापान व्यापी खुला कविता प्रतियोगिताका ३ उत्कृष्ट कविताहरु यस्तो छ । गत आइतबार नोभेम्बर १५ तारिख अनेसास जापानको ५५औँ नियमित साहित्य शृंखलामा सो नजिता सार्वजनिक गरिएको थियो । लक्ष्मी जयन्तीको विशेष अबसरमा अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार २०२० का विजेताहरु पनि घोषणा गरेको थियो ।
अनेसास जापान सिटि एक्सप्रेस साहित्य पुरस्कार–२०२० बाट पुरस्कृत तिन कविताहरु यस्तो छन् ।

कविता: “छोरीको चिट्ठी”
छोरी चिट्ठी लेख्छिन्,
तेजाब, एसिडको शहरबाट,
आमालाई संबोधन गर्छिन्
बालाई संबोधन गर्छिन्,
दाई भाईलाई, आफन्तलाई,
यो समाजलाई, यो संस्कारलाई,
संस्कारले दिएको विभेदलाई समेटेर,
छोरी नमन गर्छिन्..
छोरी चिट्ठी लेख्छिन्,
गुनासो भरिको कागजमा,
समेटेर डढेका जीवनका काला रंगहरू,
फिंजाएर अपांग बनेका कुरुप रहरहरू,
छोरी तिरस्कार लेख्छिन्,
छोरी ऑंसु लेख्छिन्,
बाको कॉंध संम्झेर,
आमाको काख सम्झेर,
छोरी चिट्ठी लेख्छिन्,
त्यो दिनको प्रेम प्रस्ताव लेख्छिन्,
त्यो नरभक्षी संझिन्छिन्,
अनि भक्कानिएर रुन्छिन्
एक हातमा गुलाब,
एक हातमा तेजाब,
छोरी आफ्नो इन्कार लेख्छिन्..
आफ्नो अधिकारको ईन्कार,
प्रतिष्ठाको ईन्कार,
आत्म सम्मानको ईन्कार,
स्वतंत्रताको ईन्कार
आफ्ना कामेका हातहरूले
उस्को प्रतिसोध लेख्छिन्..
एक प्रहार संगै,
एक मर्दे गरेको जीवन,
एक बोतल तेजाब, एक सुन्दर अनुहार,
छ्याप्प अनुहारमा,
त्यो क्षणको चित्कार लेख्छिन्,
अन्धकार लेख्छिन,
गुमेको सर्वस्व लेख्छिन्,
छोरी उल्लेख गर्छिन्,
देब्रे नासिकाबाट लामो श्वास तान्दै,
देब्रे ऑंखा उघारेर,
देब्रे गाला छामेर,
छोरी लेख्छिन्,
आधा डढेको अनुहार,
दाहिने डढेको ऑंखो,
दाहिने डढेको नाक,
आमाको धोती जस्तै,
गुजुमुच्च परेको दाहिने गाला,
बाको आस्कोटको रंग जस्तै,
डढेर कालो भएको गर्धन,
छोरी चिट्ठी लेख्छिन्,
छोरी लेख्छिन्..
अंगार जस्ता अक्षरहरूले,
आधा डढेका शब्दहरूमा,
खाक बनेको जीवन समेटेर,
त्यो दिनको कथा लेख्छिन्,
त्यो दिनको दर्दनाक स्मृति लेख्छिन्,
आफ्नै डढेको आकृति जस्तो,
पुरै डढेको जवानी लेख्छिन्,
र अन्तिम संबोधन गर्दै
लेख्छिन्,
आमा, बा,
म काली भएकी छु,
नराम्री अस्पस्ट भएकी छु,
हजुरहरूले गर्भमै भ्रुण हेरेर,
छोरा कि छोरी छुट्टयाउदाको
एक्स–रे जस्तै,
म धमिलिएकी छु,
म बिटुलिएकी छु,
म लुटिएकी छु,
आमा, बा,
हिंजो हजुरहरूले,
जन्माउन नचाहेकी छोरी,
आज जीवित मुर्दा भएकी छु।
छोरी चिट्ठी लेख्छिन,
तेजाब एसिडको शहरबाट

अमरदेव बास्तोला
हाल : जापान

कविता : गाउँ फर्किरहेको परदेशी
शरद ऋतुको एक हिउँद
चिसिदै गरेको मध्यरात
जून खुल्दै गरेको शिशु आकाश
बुकी फूल फुल्दै गरेको धरती
तुषारापातले खादै गरेको
एकथान श्यामश्वेत सपना
अक्षांश देशान्तरको बक्ररेखामा
प्रताडित बबुरो जुनकिरी
मनोवादको मानचित्र कोरिरहेछ
जिन्दगीको अमूर्त क्यान्भास भित्र
अनुवाद गर्न बाँकी अनिदो रात
आँखाभरि ईन्द्रेणी रङ पोतेर
आएकी हुँ “म” सात समुन्द्रपारी
ममताको आँचल धरौटी राखेर
केही थान खुशी खोज्न ।
“म”
यसरी छाडेर हिडेकी हुँ
आमा र देश–
मुटु निचोरेर रङ सापट दिएकी हुँ
चन्द्र सूर्य ध्वजालाई, फर्कने बाचाका साथ
आँखाको बाँध छेकेर फेवाताल बनाएकी हुँ
ताजै छ सम्झनाहरू
चाउरीदै गरेको आमाको मलिन अनुहार
चिराचिरा धाँजा फाटेका बा’का पैताला
पाठशाला गईरहेको सन्तानको रित्तो झोला
र टिफिनमा हुने रित्तो ओठ ।
सम्झन्छु–
तुसारा खसिरहने ती हिउँदे रातहरुमा
आमाको चिरा परेका पैताला
बा’को फाटेको भोटो, कछाड
उहाँहरूको जुत्ता जस्तै खुट्टा
अनि खुट्टा जस्तै खुट्टा, कति भाग्यमानी
सदा प्यारले माटोको स्पर्श गरिरहन्छ
हाम्रा खुट्टा बुख्याँचाको झैं निर्जीव
न आजसम्म माटोको स्पर्श थाहा छ
न आफू जन्मेको माटोको सुगन्ध थाहा छ
यी सबै सबै मेरो आँखै अघि घुमिरहन्छ,
जसरी घुमिरहन्छ पलपल आयु नापेर
घडीका सकेन्ड काँटा, मिनेट काँटाहरू
तर पनि घडीलाई कुनै थकान हुँदैन ।
सम्झन्छु–
कहाँ पुग्यो होला कटुसको आगोमा
भोक संगै माया भुटिरहेका आफन्तहरू
हरेक साँझ जूनताराले चिह्याउने
ती छाप्रोहरुमा झर्छ, झर्दैन हिजोआज
चिसा जूनताराहरु शीत बनेर
तुसारालाई अंकमाल गर्दै
कि टालिए सान्तवनाको बदियाँले
फाटेका पुतली पाखाहरू
डाडा भाटा भेल्सीहरू
सबै सबै एकतमास सम्झन्छु
र आफुलाई चाही बिर्सन्छु ।
जरूर–
केही थान पसिना बेचेर
केही थान सपना धितो राखेर
केही यादहरुमा बाँचेर फर्किनु छ
आफ्नै आमाको काख
आफ्नै प्रिय मातृभूमी/देश
र भन्नु छ चिच्याउदै, संसारले सुन्नेगरी
“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी”
त्यसैगरी–
मुस्कान सजाउनु छ कलिला ओठहरुमा
अनि फर्कनु छ, सदा सदाका लागि
साँझ माहुरी घारमा फर्के जस्तैगरी
आमा, आफन्त र देश सम्झिएर
शरद ऋतुको एक हिउँद
पारिलो घामको किरण छर्दै
गाउँ फर्किरहेको परदेशी
सायद “म” नै हुने छु ॥

सयपत्रि थुलुङ
हाल : जापान

कविता:”सिक्का”
खाली पेट भर्ने
केही सिक्काहरु थिए
प्वाँल परेको खल्तीमा अडिएनन !
पहिले कसैका आँखा परे या पैतला …
यदि पहिले कसैका पैतला परेको भए
उसले सिक्का कुल्चियो या खाली पेट कुल्चियो !
प्रेमपुर्बक सिक्का उठाउनेले
सिक्का उठायो या
सिक्का जत्रै प्वाँल टाल्ने खुशि उठायो ।

बिनोद आचार्य
हाल : जापान

अनेसास जापानको बार्षिक साधारण सभा सम्पन्न,साहित्य पुरस्कार विजेता घोषणा

फेसबुकबाट तपाइको प्रतिक्रिया