शुक्रबार, बैशाख ०७, २०८१

खुलामञ्चको विकल्प खोज्न आग्रह, सहयोग गर्न महानगरको प्रतिबद्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै विकल्प खोज्न आग्रह गरेका हुन् ।

कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको उनले बताए । उनले असहायहरुलाई खाना खुवाउने कार्य व्यवस्थित तवरले गर्नुपर्ने भन्दै यसका लागि महानरले सहयोग गर्ने उल्लेख गरे ।
उनले कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको बताए । शाक्यले कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिँदै महानगरपालिकासँग समन्वय गर्न पनि मेयर शाक्यले आग्रह गरे ।

मेयर शाक्यले काठमाडौंका पुरानो बसपार्कलगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति ध्यानाकर्षण भएको बताए ।