मङ्गलबार, बैशाख ०४, २०८१

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले चार वटा कार्यसूची तय गरेको छ । आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध गरी चार वटा कार्यसूची तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार विविधमा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त पदपूर्ति, विगतमा भएका कारबाही तथा पूर्णकालिन कार्यकर्तालाई सहयोग गर्ने लगायत रहेका छन् । आजको बैठकमा चार एजेण्डा मध्ये मन्त्रिपरिषद पुनर्गठनको एजेण्डाको नीतिगत विषयममा मात्र छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले सरकारलाई कसरी अझ प्रभावकारी बनाउन मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे विभिन्न कोणबाट छलफल भएको बताए । अर्को बैठक सोमबार पेरिसडाँडामा नै बोलाइएको छ । पार्टी एकताको २८ महिनापछि कोटेश्वरस्थित पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बसेको हो ।