कोरोना संक्रमणबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म विदेशमा १ सय ९१ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता भारतमा थप दुई जना नेपालीको निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २ सय ६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ ।

सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलिया रहेका १ सय ४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो ।
हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९ सय २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ ।

यस्तै, विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ ।

विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव स्वदेश ल्याई परिवारलाई बुझाइएको छ । विदेशमा मृत्यु भएका ४ सय ९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: