शुक्रबार, बैशाख ०७, २०८१

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दाहाल नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । दाहालले अब २ वर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन भएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका निर्देशक दाहालले बोर्डको सदस्य पदमा रहेर अनुभव हासिल गरिसकेका छन् । यसैले यो जटिल समयमा उनले बोर्डमा चलचित्रकर्मीको हितका लागि काम गर्ने विश्वास गरिएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो । जसमा नायक भुवन केसी र संस्कृतिविद् राजेश थापा थिए ।

दयाराम दाहालले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रानी’ हो । उनले ‘दौतरी, ठूल्दाइ, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै बिग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्निज्वाला, भाग्यविधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।