शनिबार, बैशाख ०८, २०८१

नेपालमा आदिवासी जनजातिमा रानाथारू थपिए,सूचीकृत संख्या ६० पुग्यो

काठमाडौं । नेपालमा आदिवासी जनजातिहरुको सूचीमा रानाथारु पनि थपिएका छन् । रानाथारू सूचीकरणको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएसँगै राजपत्रमा प्रकाशित पनि भएको छ । योसँगै नेपालमा सूचीकृत आदिवासी जनजाति ६० वटा भएका छन् । यसअघिसम्म ५९ वटा आदिवासी जनजाति सूचिकृत थिए । छुट्टै सूचीमा सूचीकृत भएसँगै आफ्नो समुदायको भाषा, संस्कृति, चाडपर्व, पहिरन, गहना लगागत संरक्षण हुनेमा रानाथारूहरू विश्वस्त देखिएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को परिच्छेद ५ को दफा २५ बमोजिम नेपाल सरकारको सिफारिसमार्फत आदिवासी जनजातिको अनुसूचीमा थपघट गर्न सक्ने व्यवस्थाअनुरुप रानाथारु सूचीकरण भएको हो । रानाथारू जनजातिमा सूचीकरण भएसँगै अब हुने जनगणनामा उनीहरुको छुट्टै तथ्यांक रहने भएको छ । यसअघि डा. ओम गुरुङ संयोजकत्वको आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले २०६४ सालमै रानाथारू समुदायलाई अलग सूचीकरण गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा गत माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले सो समुदायलाई अलग सूचीकृत गर्ने निर्णय गरेको प्रतिनिधि सभाका सदस्य नारदमुनि रानाथारूले बताए ।