शनिबार, बैशाख ०८, २०८१

हेलम्बुमा कृषि उत्पादन बढाउन कृषकहरुलाई मल अनुदान दिने निर्णय

सुशील सुवेदी,सिन्धुपाल्चोक । हेलम्बु गाउँकार्यपालिकाको बैठकले कृषि उत्पादन बढाउनको लागि किसानहरुलाई मल ढुवानीमा अनुदान दिने निर्णय गरेको छ । आज बसेको गाउँकार्यपालिकाको बैठकले कोरोना भाइरसको जोखिमले देश लकडाउन भएको अवस्थामा कृषि उत्पादन बढाउने उद्देश्यले हेलम्बुका किसानहरुलाई सहज ढंगबाट सुपथ मुल्यमा मल उपलब्ध गराउने निर्णय गरेको हो ।

कृषहरुलाई २ चरणमा मल उपलब्ध गाराइने गाउँपालिकाका कृषि शाखा प्रमुख टोपबहादुर बरालले जानकारी दिनुभयो । बर्षे बालिको लागि यहि महिना र हिउँदे बालीको लागि कार्तिकको दोस्रो सता सम्म मल ढुवानीमा अनुदान दिइने कृषिशाखा प्रमुख बरालले जानकारी दिनुभयो। पहिलो चरणमा तीन हजार बोरा रसायनिक मल ढुवानीका लागि अनुदान दिइने छ । मल ढुवानीको लागि गाउँपालिकाका कृषि सहकारी संस्थाहरुलाई जिम्मेवारी दिएको पनि उनले जानकारी दिए । यस्तै सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा बराबरको रकम हेलम्बु केरोना रोकथाम तथा नियन्त्रण र उपचार कोषमा दिने निर्णय गरेको प्रमुख प्रशासकी य अधिकृत भीमराज कोइरालाले जानकारी दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि हेलम्बुले यस अघि नै घर–घरमा डाक्टर अभियान थालेको थियो भने दिर्घरोगीहरुका लागि घर घरमा गएर नै औषधि वितरण गरेको छ ।  गाउँपालिकाले काठमाडौबाट ८ सय भन्दा बढी आफ्ना नागरिकलाई गाउँ फर्काएको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।