शनिबार, बैशाख १५, २०८१

टोक्योमा दुई दिवसीय तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन सुरु

टोकियो । जापानको राजधानी टोक्योमा तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन सुरु भएको छ ।
आज शनिवार एक समारोहको बीच सो सम्मेलनको जापानका लागि राजदूत प्रतिभा राणाले उदघाटन गर्नु भई सूरु भएको हो ।

नेपालको राष्ट्रिय गीत बजाएर उदघाटन गरिएको सो सम्मेलनमा ९ राष्ट्रका १३ च्याप्टरको नेपाली साहित्यकारको सहभागिता रहेको छ ।
सो कार्यक्रममा एनआररएन आइसीसीका निवर्तमान अध्यक्ष भवन भट्ट, एनआरएन आइसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ,अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा, पूर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, पूर्व केन्द्रिय अध्यक्ष तथा ट्रष्टी मोहन सिटौला, एनआरएन जापानका अध्यक्ष देबिलाल भण्डारी, त्रिवित्रि उपप्राध्यापक महेश पौड्याल, जापानी नागरिक हारुहितो नोजु, एनआरएन एशिया युवा संयोजक दीपक कँडेल लगायतका बक्ताहरूले शुभकामना मन्तब्य दिनु भएका थिए ।

उदघाटन समारोहमा विभिन्न मुलुकका स्रष्टाहरुद्वारा प्रकाशित पुस्तकहरुको विमोचन गरिएको थियो भने नेपाली साहित्यमा योगदान गरेबापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सो समारोहमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाली भाषा, साहित्य र वाङ्मयको उत्थानका लागि अनेसासले चाल्ने हरेक कदममा नेपाली राजदूतावासको सँधै सहकार्य रहने बताउनुभयो ।

अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको सो सम्मेलनको उदघाटन सत्रमा कार्यक्रम संयोजक तथा अनेसास जापानका निबर्तमान अध्यक्ष दीप पाठकको स्वागत मन्तब्य रहेको थियो भने सम्मेलनको उद्देश्य एवं औचित्यका बारेमा अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ ले प्रकाश पार्नुभएको थियो । सो अवसरमा गायक तथा सर्जक रामकृष्णबम मल्लले ’मुटुभित्र नेपाल छ कि नेपालभित्र मुटु’ बोलको राष्ट्रिय गीत गाएर राष्ट्रिय भावना जागृत गराउनुभएको थियो ।