Nepali date


बुधबार, कार्तिक २७, २०७६

ब्रिटिशहरुलाई नेपाल भ्रमण गर्न पर्यटनमन्त्री योगेश भट्टराईको निम्तो

लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ब्रिटिश मित्रहरुलाई आउदो वर्ष नेपाल भ्रमण गर्न चुले निम्तो गरेका छन् ।

मंगलबार नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन गर्न र नेपाल भ्रमण गर्न आमन्त्रण गरे ।

भूकम्प पछि धेरै जसो सम्पदाहरुको पुनर्निर्माण भै सकेको र नेपाल एक सुरक्षित गन्तव्य भएको भन्दै मन्त्री भट्टराईले सरकारले पूर्वाधार विकास गर्न काम गरिरहेको बताए ।  उनले आउदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण सम्पन्न भै सक्ने र नेपालको पर्यटन क्षेत्रका लागि त्यो ‘गेमचेन्जर’ हुने पनि बताए । उनले सन् २०२१ को मध्य सम्ममा पोखरा विमान स्थलको निर्माण सम्पन्न गर्ने गरी काम भै रहेको पनि जानकारी गराए ।

कार्यक्रममा बोल्दै ब्रिटेनको सत्तारुढ कंजर्भेटिभ पार्टीका साम्सद डा.म्याथ्यु अफोर्डले नेपाली समुदाय सहयोगी, सहिष्णु र मिलनसार भएको बताए । उनले आउंदो वर्ष नेपालको भ्रमण गर्ने आफ्नो योजना पनि सुनाए।

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार रहेको भन्दै ब्रिटेनबाट नेपाल जाने पर्यटकहरुको संख्या बढी रहेको बताए । समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटाका सीइओ डा.मारियो हार्डी, १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुल तथा सगरमाथा आरोही रेबेक्का विलियम्सले नेपालबारे प्रस्तुति गरेका थिए।

फेसबुकबाट तपाइको प्रतिक्रिया