कैलाश केसी,मंथली ।
रामेछापको सदरमुकाम मन्थलीमा प्रथम ऐतिहासिक रामेछाप कृषि पर्यटन तथा औद्योगितक व्यापार मेला २०७५ हुने भएको छ । मन्थली नगरपालिकाको आयोजना तथा सामाजिक सशक्तिकरण नेपालको सह-आयोजना एवं जिल्ला समन्वय समिति रामेछाप, रामेछाप उद्योग वाणिज्य संघ र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा मेला हुन लागेको हो । मेलाको लागि सम्पुर्ण जिम्मेवारी सह-आयोजकका संयोजक सोनु रोक्कालाई दिइएको आयोजक मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले जानकारी दिनु भयो । मेयर बस्नेतले ऐतिहासिक रामेछाप कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला जिल्लाकै प्रतिष्ठाको विषय भएकोले मेलालाई सफल रुपमा सम्पन्न गराउन सम्पुर्ण जिल्लाबासीलाई आग्रह समेत गर्नुभएको छ ।
कृषि पर्यटन तथा औद्योगितक व्यापार मेलाको लागि स्टल बुकिङ धमाधम भइरहेको सह-आयोजक सामाजिक सशक्तिकरण नेपालका संयोजक सोनु रोक्काले जानकारी दिनु भयो । उहाँका अनुसार चैत ५ गते विहान ११ बजे तिन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उद्घाटन गर्नु हुनेछ । चैत ६ गते देखि १७ गते सम्म दैनिक विहान १० बजे देखि बेलुका सात बजेसम्म मेला खुल्ला रहने आयोजकले जनाएको छ ।
मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जन दिइनेछन् भने लाइभ कन्सर्ट, जिल्ला स्तरिय सिंगिङ र डान्सिङ प्रतियोगिता समेत हुनेछन् । रोटेपिङ, बाल उधान, स्थानिय साँस्किृतिक झाँकी प्रदर्शन, दैनिक उपभोग्य बस्तुको स्टल, स्थानिय कलाको प्रस्तुति र उटको चमत्कारी नृत्य मेलाको आकर्षणको रुपमा रहने छन् ।
राष्ट्रिय स्तरका कलकारहरु पशुपति शर्मा, शिव परियार, खुमन अधिकारी, प्रकाश कटुवाल, राजेन्द्र कुमार कार्की, रोज मोक्तान, नवराज घोरासैनी लगाएतले मेलालाई थप मनोरञ्जनात्मक बनाउने आयोजकले जनाएको छ । यस्तै रमेशराज भट्टराई, विमलराज क्षेत्री, पार्वति कार्की, अमृत खाति, कमल खत्री, ज्योति मगर, कुमार कार्की, रुपक डोटेल, प्रिति आले, सिर्जु अधिकारी, सम्झना भण्डारी, रामकुमार कार्की करिष्मा ढकाल, जादुगर बलराम साकार, हास्य कलाकार राजाराजेन्द्र लगाएतका कलाकारहरुले पनि भरपुर मनोरञ्जन दिइनेछन् ।
उद्घाटन एवं पहिलो दिन प्रबेश निशुल्क हुनेछ भने दोस्रो दिन देखि प्रबेशमा शुल्क लाग्नेछन् । प्रबेश शुल्क ५० रुपैया निर्धारण गरिएको छ भने विद्यार्थीहरुलाई छुट सहित ४० रुपैया शुल्क लाग्ने आयोजकले जनाएको छ ।
मेलाको करिव एकलाख दर्शकले अबलोकन गर्ने आयोजकले अनुमान गरिएको छ । मेलाको आयोजना गर्न ३१ लाख ५६ हजार रुपैंया खर्च हुने अनुमान गरिएको छ ।

