रामेछाप,कैलाश खत्री ।
रामेछाप र दोलखाको सिमावर्ती क्षेत्रमा पर्ने शैलुङमा परेको हिउँ खेल्न आउनेहरुको संख्या यो वर्ष बढेको छ । माघ महिनाको १० गतेदेखि हिउँ परेपछि शैलुङ आउने पर्यटकको संख्या बढेको छ ।
मंगलबार पनि हिउँ परिरहेको त्यस भेगका स्थानीयहरुले बताएका छन् । लगातार हिमपात भएपछि शैलुङको सयथुम्का लगायत सानो शैलुङ, राजभीर लगायतका स्थानमा २ फिटसम्म बाक्लो हिउँ जमेको छ । हिउँ खेल्नको लागि दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकहरु शैलुङ पुगेका छन् । कतिपय गाउँबाट आवसिय रुपमा नै परिवार सहित मानिसहरु आइरहेको शैलुङ क्षेत्रका स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए ।
विभिन्न सामुदायिक विद्यालयहरुले शैक्षिक भ्रमणको रुपमा विद्यार्थीहरुलाई शैलुङ पुर्याई रहेका छन् । हिमपातबारे जानकारी दिन र उच्च क्षेत्र शैलुङको भौगोलिक अवस्थाको बारेमा अवगत गराउन विद्यार्थीहरुलाई भ्रमण गराइएको बताइएको छ । हिउँ खेल्नको लागि रामेछाप, दोलखा,काभ्रेपलाञ्चोक,सिन्धुली,सिन्धुपाल्चोक जिल्लाका ग्रामिण र सहरी क्षेत्रका मानिसहरु आइरहेका छन् । त्यस्तै काठमाडौं उपत्यकाबाट समेत शैलुङ आउनेको संख्या उल्लेख्य रहेको छ । त्यस भेगमा सिमित होटल भएका कारण आउने पर्यटकहरुलाई सुविधा पु¥याउन भने कठिन भइरहेको छ ।
विगत वर्षमा भन्दा यो वर्ष हिउँ परेको समयमा घुमफिर गर्न आउनेको संख्या निकै बढेपछि होटल तथा लजले धान्न कठिनाई भएको छ । शैलुङ क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार भएका कारणले पनि पर्यटकहरुको ध्यान तानिएको हो ।



