सोमबार, बैशाख ०७, २०८३

हिमपात भएर चिसो बढेपछि जनजीवन प्रभावित,कृषक खुसी

काठमाडौं । देश भर चिसो र पानी परेर उच्च पहाडी क्षेत्रमा हिमपात भएर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

यद्यपि हिमपातले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् ।

हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी-कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । सो क्षेत्रमा चार-पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको र बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

यता रामेछाप र दोलखाको पर्यटकीय क्षेत्र सैलुङमा पानी परेसँगै निरन्तर रुपमा भारी हिमपात भएको छ । रामेछाप र दोलखाको सीमा सैलुङमा हिउ खेल्ने पर्यटकहरुको भिड बढेको छ ।