बिहिबार, बैशाख ०६, २०८१

मेलम्ची आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने तयारी

काठमाडौं । इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने तयारी थालेको थालेको छ ।
यद्यपि कानुनी प्रक्रिया पूरा गर्न भने केही समय लाग्नेछ ।
नयाँ ठेकेदार छनोट गरेर काम अघि बढाउनु अर्को जोखिम हुने भन्दै नेपाली सेनाबाटै काम सम्पन्न गराउने छलफल सुरु गरेको हो ।

यसमा आयोजनासम्बद्ध नेपाली अधिकारीहरु पनि सकारात्मक देखिएका छन् । तर, दातृ निकाय एशियाली विकास बैंक (एडीबी) लाई मनाउन भने सजिलो छैन । किनकी दातृ निकायहरुले सुरक्षा निकायमार्फत आयोजनाको काम गराउँदैनन् ।

मेलम्ची खानेपानी आयोजनामा अहिले सुरुङको फिनिसिङदेखि थुप्रै प्राविधिक काम गर्न बाँकी नै छ । यसका लागि अझै २ अर्बभन्दा बढी खर्च हुने अनुमान छ ।
यो प्रक्रियाबाट जाँदा निकै ढिलाई हुने र गतिलो कम्पनी नआएर विगतमै परिघटना दोहोरिने डर सरकारलाई छ । त्यसैले ठेक्का टुक्र्याएर स्वदेशी कम्पनीहरुलाई जिम्मा दिने छलफल चलिरहेको छ । तर, त्यसरी काम गर्दा पनि कुनै एक ठेकेदारले बदमासी गर्दा पनि आयोजनामा उल्झन आउन सक्ने जोखिम छ ।

मेलम्ची खानेपानी आयोजनामा प्रमुख रामचन्द्र कँडेलले भने माघ १९ गतेसम्म सीएमसीलाई काममा फर्किन समय रहेकाले तत्काल कुनै निर्णय नलिइने बताए ।