शनिबार, बैशाख ०८, २०८१

सरकारको प्रभावकारी काम देखेपछि बिपक्षहरू अत्तालिएर थाले : मन्त्री अधिकारी

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सरकारको प्रभावकारी काम गरेर देखाउन थालेपछि अत्तालिएर सरकारविरुद्ध भ्रम छर्ने प्रयास गरिरहेको बताएका छन् ।

बुधबार झापाको विर्तामोडमा  प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।
सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सरकार कटिबद्ध भएर आर्थिक विकासको कार्यमा लागिरहेको तर प्रतिष्पर्धामा पछि परेकाहरुले भ्रम छर्नका लागि सुरुदेखि नै हल्ला मच्चाउन कस्सिएको उनले बताए ।

उनले कसैको दवावमा सरकार नबहकिने र मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लगेरै छाड्ने दृढता व्यक्त गरे ।

पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा वत्र्तमान सरकारले ऐतिहासिक उपलब्धिका कामहरु गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले २९ वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सले अन्तर्राष्ट्रिय उडान गर्न थालेको र मुलुकको आर्थिक विकासको वार्षिक दर पहिलोपल्ट ६ प्रतिशतभन्दा माथि उक्लिएको दावी गरे ।
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको र सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।

सन् २०१९ को अगस्टतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत सम्पन्न भइसक्ने हुँदा सन् २०२० देखि नेपालमा बाह्य पर्यटकको ओइरो लाग्ने उनले बताए ।

उनले यसै वर्षदेखि मुलुकका ९ वटा विमानस्थलमा रात्रि उडान गर्ने र बन्द रहेका २९ वटा विमानस्थल चालु गरिने जानकारी दिए ।

मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण जीटुजी प्रक्रियामार्फत अघि बढाउने र कम वातावरणीय क्षतिमा कार्य सम्पन्न गर्ने सरकारको योजना रहेको बताए ।

मन्त्री अधिकारीले रात्रि र बाह्य मुलुकसम्म उडान गर्नका लागि स्तरोन्नति भइरहेको झापाको चन्द्रगढी विमानस्थल र किचकबध लगायतका चार वटा पर्यटकीय स्थलको निरीक्षण गरेका थिए ।