मङ्गलबार, बैशाख ०८, २०८३

फेवाताललाई नेपालको गहना बनाएरै छाड्ने सांसद् पहारीको घोषणा

पोखरा । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले फेवाताल संरक्षणको लागि निरन्तर कस्सिएसँगै फेवाताललाई नेपालको गहना बनाएरै छाड्ने उद्घोष गर्नुभएको छ ।

फेवाताल वर्षेनी प्राकृतिक तथा मानविय अतिक्रमणको चपेटामा परेर साँघुरिदै गएको समयमा सांसद पहारीले संरक्षण र सम्वद्र्धनमा जवाफि निर्णय गर्दै फेवाताललाई गण्डकी प्रदेको मात्र नभई देशको नै आर्थिक मेरुदण्डको रुपमा विकास गर्ने कार्यको शुरुवात गर्नुभएको छ ।

ताललाई प्रदुषणबाट मुक्त गर्ने उद्धेश्यले खहरे आमा समूह बैदामले शुरु गरेको सरसफाई अभियान एक सय हप्तामा प्रवेश गरेको अवसरमा शनिबार बाराहीघाटबाट गैराको चौतारा सम्मको क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
उक्त तालको सफाई तथा संरक्षण अभियानको शुरुआत प्रदेश सांसद राजीव पहारीले गर्नुभएको हो । उहाँले फेवातालमा भएको प्रदुषणले पोखराको सौन्दर्यतालाई नै अपुरो बनाएको बताउँदै आफ्नो जिवन्तकाल नै तालको संरक्षण तथा संवद्र्धन गर्ने उद्घोषका साथ सांसद पहारीले केही समय अघि एक विशेष कार्यक्रमका विच आफुले सांसद वापत पाउने सेवा सुविधाबाट प्राप्त दुई महिनाको तलव समेत हस्तान्तरण गर्नुभएको थियो ।

आजको कार्यक्रममा पनि उहाँले ताल सफाई अभियानमा आफ्नो एक महीना बराबरको तलव प्रदान गर्ने घोषणा गर्नुभएको छ । फेवाताल पोखरा वासीको लागि मात्र नभई आम नेपाल र नेपालीको पहिचान भएकोले उक्त पहिचान विश्वसामु निरन्तर स्थापित गराउनु नै आफ्नो मूख्य लक्ष्य रहेको सांसद पहारीले बताउनुहुन्छ ।
तालको अतिक्रमण गरी विभिन्न पेशा र व्यवसाय गरीरहेका केही व्यक्तिको स्वार्थका कारण तालको सौन्दर्यताको नै लोप हुने अवस्थामा पुगेको फेवातालको संरक्षणको शुरुवातले राष्ट्रिय गहना तथा पहिचानले राज्यको आर्थिक वृद्धिदरमा ठूलै फड्को मार्न सहयोग गर्ने सांसद पहारीको दावि रहेको छ । सर्वोच्च अदालतले समेत अतिक्रमण गरिएको तालको क्षेत्रफल बराबरको स्थानमा रहेका तथा वसोवास गरेका व्यक्तिहरुले उक्त स्थान खाली गर्ने फैसला गरे पश्चात सफा, सुन्दर तथा प्राकृतिकमैत्री फेवाताल बनाउने सांसद पहारीको योजनाले मूर्र्त रुप पाउन थालेको हो ।
उहँले भन्नुभयो, “सर्वोच्चको फैसला अुनसार अव ताल संरक्षणमा तीनै तहका सरकार लागि परेका छन् । यसमा स्थानीयबासी, पर्यटन व्यवसायी लगायत सबैको सहभागिता हुनु जरुरी छ” पहारीले भन्नुभयो । सर्वोच्चको फैसला लागू गर्दा गर्दा उचित मुआव्जा स्थानीयलाई दिनुपर्ने पहारीले माग गरे ।

फेवाताल संरक्षण, सम्वद्र्धन तथा सफाईको लागि आयोजना गरिएको कार्यक्रममा वृहत पोखरा सरसफाई अभियानका सदस्यहरु, सेना, सशस्त्र, जनपथ, पर्यटन व्यवसायी आमा समूह लगायतको उपस्थिती रहेको थियो ।