मङ्गलबार, बैशाख ०८, २०८३

नेपालको पहिलो ‘स्मार्ट भिलेज’ घलेगाउँ घोषणा, प्रविधिमैत्री बनाउन मुख्यमन्त्रीको सुझाब

लमजुङ । गण्डकी प्रदेशको लमजुङ घलेगाउँ नेपालको पहिलो ‘स्मार्ट भिलेज’ बनेको छ।

तमुहरूको महान पर्व फो–ल्हो ल्होछार वर्ष २०७५ को अवसरमा घलेगाउँलाई नेपालको पहिलो स्मार्ट भिलेज घोषणा गरिएको हो।
गुरुङ जातिको आदिम थलो क्व्होलासोँथर त्यही आदिम थातथलोको घलेगाउँ पहिलेदेखि होमस्टे (घबास)मा चर्चा कमाएको घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउन विश्वस्तरबाट नै पहल भएको हो।’ गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘स्मार्ट भिलेजलाई निन्तरताका लागि स्थानीय उत्पादनलाई अझ वृद्धि गर्नुहोस्। आधुनिकता र प्रविधिमैत्री बन्न जरुरी छ।
’स्मार्ट भिलेजको शुभारम्भ गर्दै राष्ट्रिय कलाकार भीमु गुरुङ र पृथ्वी गुरुङको स्वरमा निर्माण गरेको घलेगाउँको गीतमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छमछमी नाचे। स्मार्ट भिलेजका लागि होमस्टे सञ्चालनदेखि नै स्थानीय र अर्गानिक खानामा जोड दिएको होमस्टे सञ्चालक शान्ता गुरुङले बताइन्। ‘गाउँलाई ‘स्मार्ट भिलेज’ निर्माणका लागि घलेगाउँवासीले दैनिक १५ मिनेट समुदायको सरसफाइमा जुटे’, क्व्होलासोँथर गाउँपालिका अध्यक्ष तथा पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले भने, ‘हाम्रो गाउँ ‘स्मार्ट भिलेज’ बन्यो भनेर हामी खुशी त छौँ तर हामीलाई राज्यले जिम्मेवारी थप गरिदिएको छ।’ दैनिक १५ मिनेट सरसफाई ‘स्मार्ट भिलेज’ को अडिलो खुराक बन्न पुग्यो। दक्षिण एशियामै कहलिएको गाउँको नाम घलेगाउँ, जिल्लाको पहिलो होमस्टे (घरवास) घलेगाउँ, सार्क राष्ट्रकै नमूना गाउँको पहिचान कमाउन सफल घलेगाउँ २०५७ सालमा २० घरमा २/२ जनाको दरले ४० जना पर्यटकको क्षमताबाट होमस्टे (घरबास) शुरु गरेको थियो। अहिले पर्यटन प्रवर्द्धन गर्दै होमस्टे कार्यक्रम सञ्चालनमार्फत् ३२ घरमा होमस्टे सेवा सञ्चालित छ। होमस्टे र नमूना गाउँको स्यावासी पाएको घलेगाउँ मुलुकका धेरै गाउँवस्तीका उदाहरण बन्यो। यद्यपि सकारात्मक ईख बोकेका घलेगाउँवासीलाई यतिले मात्रै पुगेन। गाउँको क्रमगत विकासको दौरानमा ‘स्मार्ट भिलेज’ को अवधारणालाई निरन्तरता दिँदै घलेगाउँले नेपालको पहिलो ‘स्मार्ट भिलेज’ सम्मको पदवी प्राप्त गर्‍यो।

होमस्टेसँगै पर्यटकीय गन्तव्यको विकासका लागि ‘स्मार्ट भिलेज’ महत्वपूर्ण भएको अध्यक्ष घलेले बताए। ‘आवश्यक मापदण्ड कायम गर्दै गाउँमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई थप गुणस्तरीय सेवा प्रवाह गराउने उद्देश्यले ‘स्मार्ट भिलेज’ को अवधारणा ल्याइएको हो।’ नेपालको पहिलो होमस्टे स्याङ्जाको सिरुवारीबाट सिकेको शिक्षालाई स्थानीय समाजसेवी प्रेम घलेले घलेगाउँमा लागू गरेका थिए। त्यसपछि घलेगाउँ ग्रामीण पर्यटकीय नमूना गाउँ बनेको थियो। ‘स्मार्ट भिलेज’ को मास्टर प्लानको पिपिरो होमस्टेको शुरुवात थियो।

हिमालको मनोरम दृष्य पर्यटक लोभ्याउने मुख्य कुची बनेको हो। पर्यटक आँखा अगाडिको हिमालको दृष्यमा फोटो खिच्न मन पराउँछन् । मनोरम दृष्यका फोटो र भिडियोहरू मोबाइल र क्यामारामा कैद गर्नका लागि पर्यटक घलेगाउँ जाने गर्दछन्। त्यसमा पनि संस्कार, संस्कृति र स्थानीय उत्पादन पर्यटकको रोजाइ बनेको छ।