शनिबार, बैशाख १९, २०८३

११ महिनामै १० लाख विदेशी पर्यटक नेपाल भित्रिए, २०२० लाई बलियो आधार

काठमाडौं । सन् २०१८ को ११ औं महिनासम्म अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । जनवरीदेखि नोभेन्बरसम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले यसलाई एेतिहासिक उपलब्धी भनेको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को भन्दा १७ प्रतिशतले बढी हो ।
यो तथ्यांकमा अक्टोबर र नोभेम्बर महिनामा स्थलगत रुपमा आएका पर्यटकको संख्या सामेल छैन । यो संख्या पनि जोड्दा जनवरीदेखि नोभेम्बरसम्ममा नै करिब २३ प्रतिशत वृद्धि देखिने बोर्डले जनाएको छ । यो ११ महिनामा २ लाख ६० हजार पर्यटक भारतबाट आएका छन् । यस्तै यसवर्ष १ लाख ३४ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । थाइल्याण्ड, जापान र उत्तर कोरियाबाट नेपाल आउने पर्यटकको संख्या पनि ठूलो छ ।
युरोप अमेरिकाबाट पनि नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । यो वर्ष २ लाख २४ हजार पर्यटकले पनि नेपालको भ्रमण गरेका छन् । ८२ हजार ८ सय अमेरिकन र ३३ हजार ५ सय अष्ट्रेलियन पनि नेपाल भित्रिएका थिए, ११ महिने अवधिमा ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी यो सफलताको श्रेय पर्यटनसम्बद्ध सबैलार्इ जाने बताउँछन् । ११ महिनामै १० लाख पर्यटक भित्रिनुले नेपाल भ्रमण वर्ष २०२० लाई बलियो आधार दिने पनि उनले बताए ।

सन् २०२० मा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यो लक्ष्य सरकारका लागि चुनौतिपूर्ण छ ।