बिहिबार, असार ०४, २०८३

जापानमा विदेशीको संख्या २६ लाख नाघ्यो, नेपाली ८५ हजार

टोकियो । जापानमा विदेशीहरुको सख्या २६ लाख ३३ हजार ७२५ पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

जापानमा आधिकारीक रुपमा बसोवास गर्दै आएका नेपालीको संख्या ८५ हजार नाघेको छ। गत जुन अन्तिम सातासम्मको तथ्यांक अनुसार जापानमा वसोबास गर्ने नेपालीको संख्या ८५ हजार ३२१ जना रहेको जापानको कानुन मन्त्रालयले जनाएको छ।

यो संख्या जापानमा कुल वसोवास गर्ने विदेशीहरु मध्ये छैठौ ठूलो सख्या हो।मन्त्रालयले हालै सार्वजानिक गरेको तथ्यांक अनुसार जापानमा विदेशीहरुको सख्या अघिल्लो वर्षको ६ महिना अघिको तुलनामा २ दशमलव ९ प्रतिशतले बृद्धि हुदै २६ लाख ३३ हजार ७२५ पुगेको छ। जसमध्ये जापानी सरह स्थायी बसोबास लिनेको संख्या ३ लाख २६ हजार १९० रहेको छ । अन्य विभिन्न भिषा लिएर बसोबास गर्नेहरुमा २३ लाख ११ हजार ६१ जना रहेका छन् भने स्थायी बसोबास अनुमति पाउनेहरुमा ७ लाख ५९ हजार १३९ जना रहेका छन् ।

कानुन मन्त्रालयका अनुसार विगत छ महिना यता २ दशमलव ९ प्रतिशत ७५ हजार ४०३ जनाले विदेशीको संख्या बृद्धि हुँदै हालसम्मको रेकर्ड कायम गरेको छ। कुल विदेशी मध्ये ५१.६ प्रतिशत पुरुष र ४८.४ प्रतिशत महिला रहेका छन् । जापानमा रहेका कुल विदेशी मध्ये सवैभन्दा धेरै चिनियाँ नागरिकहरु ७ लाख ४१ ह्जार ६५६ जना रहेका छन् । यस्तै ४ लाख ५२ हजार ७०१ ज्ना कोरियन, २ लाख ९१ हजार ४९४ जना भियतनामी, २ लाख ६६ हजार ८०३ जना फिलिपिनी र १ लाख ९६ हजार ७८१ जना ब्राजिलियनहरु जपानमा बसोबास गर्दै आएका छन् ।

जापानमा विगत छ महिना यता नेपालीको सख्या भियतनामी पछि सवैभन्दा बढी तुलनात्मक रुपमा बढ्ने संख्या देखिएको छ। छ महिनायता जापानमा भियतनामीहरु ११ दशमलव १ प्रतिशतले बढेको देखिन्छन भने त्यसपछि ६ दशमलव ६ प्रतिशतले नेपालीको संख्या बृद्धि भएको तथ्याकंले देखाएको छ। छ महिना यता नेपालीहरु करिव ५ हजार २८३ जनाले बढेको देखाएको छ।