बिहिबार, असार ०४, २०८३

जापानमा २५ वर्ष यताको ठूलो आँधी र वर्षाको प्रकोपका कारण ठूलो क्षति

जापान,१९ भदौ । जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ ।

‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् ।ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् ।

यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त  नभए पनि आँधीबाट १ को मृत्यु र पांच जना घाइते भएको र कान्साइ विमानस्थलमा पहिरो गएको छ  ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सतर्कता अपनाउन नागरिकलाई अपिल गर्नुभएको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ ।

जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भन्नुभयो– सोमबार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ र यसले पुर्याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरु अपनाउनु पर्छ । उहाँले मङ्गलबार बिहानदेखि आँधीको गति झनै बढ्दै गएको देखिएको बताउनुभयो । कैयौँ स्थानमा पहिरो गएको र केहीमा बाढीले क्षति पुर्याएको देखिएको छ भन्दै तर अहिले नै स्थलगत रुपमा जान सकिने अवस्था नरहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री आबेले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाउनुभएको छ । यस बैठकले सुरक्षात्मक उपायका लागि आवश्यक तयारी गर्न निर्देशन दिने बताइएको छ । मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको जनाएको छ ।@जापान टुडे