शनिबार, बैशाख १९, २०८३

पोखराका १० ठाउँमा फ्री वाइफाई सेवा उपलब्ध हुने

पोखरा,१८ भदौ । पोखराका विभिन्न १० ठाउँमा फ्री (निशुल्क) वाइफाई सेवा उपलब्ध हुने भएको छ । पोखरा महानगरपालिकाले वल्र्ड लिंक प्रालिसँग मिलेर १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।

निशुल्क वाइफाई उपलब्ध गराउने विषयमा महानगरपालिका र वल्र्ड लिंक प्रालिबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र वल्र्ड लिंक प्रालिका सिईओ केशव नेपालले हस्ताक्षर गरे ।

सम्झौतापत्र अनुसार पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्डे्रन पार्क, बाराहीघाट, मनिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, सिसुवा अस्पताल, बेगनासतालको मन्दरेपार्क र लायन्स सामुदायिक अस्पतालमा निशुल्क रुपमा वाइफाई सेवा उपलब्ध हुनेछ । सामाजिक उत्तरदायित्व अन्तगर्त वल्र्ड लिंकले पोखरा केही ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको प्रालिका सिइओ केशव नेपालले बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई स्मार्टसिटी बनाउने अवधारण अनुसार महानगरबासीलाई इन्टरनेटमार्फत् घरघरमै सेवा पुर्‍याउन महानगर लागि परेको बताए ।