रुसमा जारी विश्वकप फुवटलको अन्तिम १६ अर्थात प्रि– क्वार्टरफाईनल समीकरण पूरा भएको छ ।
हिजो लिग चरणका खेल सकिएसँगै नक आउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको हो । यसपटक युरोपबाट १० टोली अन्तिम १६ मा पुगेका छन् । यसैगरी ल्याटिन अमेरिकाबाट ५ टोलीले अन्तिम १६ मा ठाउँ बनाउँदा एसियाबाट एक्लो टोली जापान मात्रै नक आउट चरणमा उक्लियो ।
अफ्रिकी मुलुकबाट भने कुनै पनि टोली नक आउट चरणमा प्रवेश गर्न सकेन । अन्तिम १६ का खेलहरु भोलिबाट हुनेछन् । हरेक दिन दुई खेल हुनेछ ।
नेपाली समयअनुसार बेलुकी पौने ८ बजे पहिलो खेल हुनेछ भने राति पौने १२ बजे दोस्रो खेल हुनेछ ।अन्तिम १६ को पहिलो खेलमा भोलि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् । भोलि नै उरुग्वेले पोर्चुगलको सामना गर्नेछ ।
आईतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्कको खेल हुनेछ । सोमबार ब्राजिल र मेक्सिको तथा जापान र बेल्जियम भिड्दा मंगलबार स्विडेन र स्विट्जरल्याण्ड तथा कोलम्बिया र इंग्ल्याण्ड आमने सामने हुनेछन् ।
यसअघि हिजो भएका खेलहरुमा बेल्जियम, कोलम्बिया, पोल्याण्ड र ट्युनिसिया विजयी भएका छन् । राती भएका खेलहरुमा बेल्जियमले इङ्ल्याण्डलाई १–० ले पराजित गरेको छ ।
त्यस्तै पोल्याण्डले जापानलाई १–० ले नै हराउँदा, कोलम्बियाले सेनेगललाई पनि सामानअन्तरले हरायो । अन्तिम खेलमा सान्त्वना जित निकाल्ने क्रममा ट्युनिसियाले पानामालाई २–१ ल्े पराजित गरेको छ ।

