सोमबार, मङि्सर २३, २०८२

प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा

जनकपुरधाम,७ वैशाख । । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् ।

शुक्रबारदेखि जनकपुरको बारहविगहा रंगभूमी मैदानमा सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।

सोही योजना अनुसार अागामी दिनमा प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने उनले घोषणा गरे ।

क्रिकेटको लागि विशेष मैदान निर्माण गरिने मुख्यमन्त्री राउतले विश्वस्त पारेका थिए ।  तेश्रो दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगितामा देशभरिका टोलीहरु सहभागी छन् ।

धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्यमन्त्री राउतले ब्याटिङ गरेर उद्घाटन गरेका थिए ।

प्रतियोगितामा भागलिन नेपाल र भारतका खेलाडी जनकपुर आइपुगेका छन् । जनकपुरमा पहिलोपल्ट टर्फ विकेटमा  प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट संघ धनुषाका  विमलेश सिंहले बताए ।

दुई संस्करण म्याटमा खेलाइए पनि यसपालि डीजीएमटी टर्फमा खेलाउन लागिएको र त्यसका लागि ३० यार्डभित्र हरियो घाँस रोपिएको सिहले बताए । विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ७१ हजार रुपैयाँ पुरस्कार जित्ने छन् ।