जापान । आइची खेलकुद प्रवर्द्धन संघ तथा सामाजिक फुटबल टोली एएस कारिया (AS Kariya) को आयोजनामा आगामी अगस्ट १६ मा चिरियु शहरस्थित सुगी फार्मेसी चिरियु कल्याणकारी एरिनामा “चिरियु फुटसल मिनी एसियाली प्रतियोगिता” आयोजना हुने एसबीआई रेमिटेन्सका तीर्थ कार्कीले जानकारी दिनु भयो।
प्रतियोगितामा नेपालसहित ९ एसियाली देशका १६ टोली सहभागी हुने अपेक्षा गरिएको छ। सहभागी देशहरूमा नेपाल, जापान, भारत, भियतनाम, इन्डोनेसिया, दक्षिण कोरिया, म्यानमार, कम्बोडिया र चीन रहेका छन्। प्रतियोगितामा नेपाली टोलीको सहभागिताले जापानमा रहेका नेपाली समुदायको उपस्थिति र खेलकुदप्रतिको सक्रियतालाई थप उजागर गर्ने विश्वास गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य विभिन्न कम्पनीमा कार्यरत विदेशी कर्मचारीहरूबीच फुटसलमार्फत आपसी सम्बन्ध, मित्रता तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु हो। भाषा र संस्कृतिका भिन्नतालाई खेलमार्फत जोड्ने प्रयासस्वरूप यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा मेटावर्क्स, टोयोटा आइरन वर्क्स, कोन्डो इन्डस्ट्रीज, संजिरुशी ब्रुइङ, एसबीआई रेमिट लगायतका कम्पनीका टोलीहरू तथा चिरियु हाई स्कूल, यामामोटो गाकुएन, एशिया कन्सल्टिङ र एच एन्ड ए जापानीज ल्याङ्ग्वेज स्कूल जस्ता स्थानीय शैक्षिक संस्थाका टोलीहरूको पनि सहभागिता रहनेछ।
प्रतियोगिताको विजेता टोलीले एएस कारियाका खेलाडीहरू सम्मिलित विशेष टोलीसँग मैत्रीपूर्ण विशेष खेल खेल्ने अवसर प्राप्त गर्नेछ। कार्यक्रम बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुनेछ भने प्रवेश सबैका लागि निःशुल्क रहने आयोजकले जनाएको छ।
कारिया र चिरियु लगायत निशिमिकावा क्षेत्रमा ठूलो संख्यामा विदेशी नागरिक कार्यरत रहेकाले यस्ता कार्यक्रमले समुदायबीचको सहकार्य र सद्भावलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।


