रामेछाप,२१ माघ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बुधबारदेखि जारी “रामेछाप सिभिल च्याम्पियन शीप २०७४” तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले कव्जा गर्न सफल भएको छ ।
शनिबार भएको फाइनल खेलमा शान्तिदिप युवा क्लवलाई ३–२ सेट अन्तरमा पराजित गर्दै सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको टिप च्याम्पियन बनेको हो । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले चाम्पियन उपाधि, शिल्ड, मेडल र प्रमाणपत्रसंगै १ लाख ५० हजार नगद पुरस्कार जितेको छ भने शान्तिदिप युवा क्लब मन्थली दोस्रो हुदै शिल्ड, मेडल र प्रमाणपत्र संगै १ लाखमा चित्ता बुझाउन बाध्य भएको छ ।
फाइनल खेलमा शान्तिदिप युवा क्लबले विवाद गरेसंगै अन्तिम निर्णय आयोजकबाट गर्नु परेको थियो । यस्तै मन्थली युनाइटेड समाजले लोकतान्त्रिक खेलकुद संघ रामेछापलाई ३–२ सेट अन्तरमा हराउदै तृतिय पुरस्कारको हकदार बनेको छ । उसले ५० हजार नगद पुरस्कार हात पारेको छ भने लोकतान्त्रिक खेलकुद संघ सान्त्वना हुदै नगद ३५ हजार रुपैयामा सिमित भएको छ ।
प्रतियोगिता भरि राम्रो प्रदर्शन गर्दै सुदुरपश्चिमाञ्चलका तारा भट्टले उत्कृष्ट खेलाडीको को ट्रफी सहित १० हजार नगद पुरस्कार हात पारेको छ ।
