टोकियो,१९ माघ । करिव ४ हजार जना मानिसहरु टोकियोका २४ घण्टा इन्टरनेट सुविधा भएका र मंगा क्याफेमा शरण लिने गरेको महानगर सरकारको सर्भेले सोमबार देखाएको छ ।
उनीहरुमध्ये ७० प्रतिशतभन्दा बढि अस्थाइ कामदार रहेका छन् । साइबर होमलेस भनेर चिनिएका उनीहरुमा सामान्यतया ३० र ५० वर्ष उमेर समूहका ३८.५ र २७.९ प्रतिशत रहेको सर्भेले देखाएको छ । महानगर सरकारका एक अधिकारीले बताए अनुसार घरबारविहिनमध्ये ३० वर्ष उमेर समूहकाले २००८ को आर्थिक मन्दीका कारण जागिर गुमाएको र ५० वर्ष उमेर समूहकालाइ युवाको तुलनामा काम पाउन अप्ठ्यारो रहेको छ । नोभेम्बर २०१६ र जनवरी २०१७ को अवधिमा टोकियोका ५०२ वटा इन्टरनेट र मंगा क्याफेमा गरिएको सर्भेमा २२२ वटाले प्रतिक्रिया दिएका थिए ।
क्याफेमा रहेका ९४६ जनामा गरिएको सर्भेमा ३७.१ प्रतिशतले आफुहरु त्यहाँ व्यक्तिगत वा व्यापारिक कामका लागि आएको र २५.८ ले उनीहरुसंग स्थायी ठेगाना नभएकाले यस्तो गर्नु परेको बताए । सर्भे गरिएका क्याफेबाट प्राप्त आँकडाबाट महानगर सरकारले शहरका क्याफेमा हरेक साता १५ हजार ३०० जना बस्ने गरेको र उनीहरुमध्ये ४ हजार जना घरबारविहिन रहेको अनुमान गरेको छ । टोकियो सरकारले स्थाइ ठेगाना नभएका ३६३ जना क्याफेका कर्मचारीको पनि अन्तर्वार्ता लिएको थियो र उनीहरुमध्ये ४३.८ प्रतिशत सडकमा सुत्ने गरेको पाइएको छ । ४६.८ प्रतिशतले उनीहरुको मासिक तलब एक लाख १० हजार देखि एक लाख ५० हजार येनसम्म रहेको र १०.७ प्रतिशतले उनीहरुको आयश्रोत नै नभएको बताए ।
