ओम गुरुङ,टोकियो –
- विभिन्न आशंकाहरुको बावजुद पनि निर्वाचन सम्पन्न भयो यसलाई उपलब्धि नै मान्नु पर्दछ । यसैसंग नयां इतिहास कोरिएको छ, संगै अनेकौ प्रस्नहरु पनि खडा भएका छन । कौतुहलताहरुबिच नयां अवसरको आयम थपिएको छ । देश नयाँ चरणमा प्रबेश गरेको छ ।
निर्वाचनबाट जुन परिणाम आयो त्यो काग्रेसका लागि अप्रत्यशित हुन सक्छ तर बम गठबन्धनले दाबी गरे झैँ बहुमत प्राप्त गर्यो । अब सोचनीय बिषय निर्वाचनको सफलता र बहुमत प्राप्त संगै रणनितिक हिसाबले परिणतीको परिवेश कसरि अगाडि बढ्छ ? सरकारको बनोट कसरी बन्छ र दुइ पार्टी बीचको एकता र त्यस पछीको ब्यबस्थापन के कसरि हुन्छ ? त्यसको स्थायित्व कस्तो हुने भन्ने बारे हामी नेपालीले मात्र होइन बिदेसीहरु र खास गरि शक्तिकेन्द्र बिच सर्बाधिक चर्चा र गहिरो चासोको बिषय बनेको छ । इतिहासलाइ फर्केर हेर्दा जनताले आलो पालो सबैलाइ पार्टीहरुलाई बिस्वासको साथ बहुमत दिएर बागडोर सुम्पीदिदा पनि आफ्नै पार्टी र व्यक्तिगत स्वार्थ र अहंकारको बोझ थेग्न नसक्दा राज्यले धेरै कुरा गुमाएको तितो यथार्थता छ फलत देशको सामान्य बिकासको गति पछाडी धकेलिएको छ । निर्वाचनको सफलता संगै बहुमत प्राप्त दलले अबका यामान चुनौतीहरुलाइ कसरि ब्यबस्थापन गर्दछ भन्ने बिषय गहन र गरुङगो गरी देखिएको छ । यसले उल्झाएका कुराहरु धेरै होलान तर पनि केहि मुख्य कुराहरु निम्न छन ।
सैद्धांतिक बहस बिनाको एकता
यो निर्वाचनमा निरन्तरता क्रम भंग गर्दै यति छोटो समयमा अप्रत्याशित ढंगले बामगठबन्धन बन्यो जस्ले पार्टीका पहिलो लेयरले समेत झस्कायो । गठबन्धन केवल गठजोड नभएर पार्टी एकताको मूल उदेश्य आम संगठक र बामपंथी जनमतलाई चुम्वकिय आकर्षण बन्न गयो ।स्थिर सरकार बनाउन मागेको मत भारि बहुमतको सुखद परीणाम बनेर आयो । त्यसको मुख्य कारण पटक पटक सरकार परिवर्तनले आजीत भएको बेला स्थायी सरकार र बिकासको लागि पार्टी एकताको नाराले माहोल बनाउन सफल भएको कुरा नकार्न मिल्दैन । केहि छिटफुट नगन्य परिणाम बाहेक धेरै जिल्लामा क्लिन स्विप नै गर्यो | कुनै ठुलो दुर्घटना भएन भने चाडै नै बाम सरकार गठन हुदैछ । तर अब भने जस्तै यति सहजै पार्टी एकता होला ? २००६ सालमा गठन भएको नेकपा २०३० देखि फुट्न सुरु हुँदै यहाँ सम्म आइ पुग्दा एक दर्जन पटक भन्दा बढी जोडिने र फुट्ने इतिहास संसारमा बिरलै छ । एउटा शक्ति १० बर्षे जनयुद्दबाट संसदीय प्राणाली तिर अग्रसर हुदै आएको पार्टीले यो एकता लाई कसरि पुष्टि गर्ला र केहि अघि सम्मको घटनाक्रमलाई सम्झिने हो भने यी भन्दा ठुलो राजनैतिक दुस्मन अर्को थिएनन जसरी टकराएका दुई शक्ति देसको ठुलो दलका रुपमा स्थापित भएको अवस्थामा मितेरी साइनो कति बलियो गरी बाध्लान ? यी दुई पार्टीहरु कुनै सैदान्तिक बहस र बैचारिक प्रस्ट धरातल बिना आसातित पदहरु बागबिलो मै सिमित भएर गरिने एकताले एउटै पार्टीको कठिन व्यवस्थापक कसरी गर्ला सर्वाधिक संशयको बिषय बनेको छ । हामीले अनुमान गरे भन्दा पृथक सहजै भने झैँ एकता गरे भने पनि फुटाउन केहि देसी बिदेसी तत्वहरु सदा सक्रिय भै नै रहने छन | दुवै पार्टी भित्रका असन्तुस्ट पक्षलाइ कसरि सम्बोधन गर्ने सरकारमा प्रतिनिधत्व गर्ने बिषय देखि दुवै पार्टी भित्र माथि देखि तल सम्म कसरि सम्योजन गर्ने भन्ने बिषय फलामे चिउरा बन्ने सहज अनुमान गर्न सकिन्छ । राजनैतिक पार्टीको मूल मार्ग त्यसको बिचार पक्ष हो त्यसले तय गर्ने सैद्धान्तिक स्वरुप छलफल बिनै भावानाको सामिप्यताले अंगालोमा कसिएर मात्र पार्टीको वर्ग पक्षधरता उसको राजनैतिक दिशा देखिन्छ भन्नु पदको स्वार्थ हो राजनैतिक बाटोको निर्देश हैन । यसैले पहिले बिचार र दृष्टिकोणको धरातल बलियो पार्ने गरी एकताको थालनी हुनु पर्थ्यो । अव लेपन गरिने नयां पार्टीको राजनैतिक चरित्रको आवरणको पक्षलाई गाडा अगाडी गोरु पछाडी भएको सत्य हो जुन प्राकृतिक र स्थायी तर्क मानिदैन । तर यो जटितलालाई सल्टाएर साच्चिकै पुष्पलालको सपनाको बिरासतलाई न्यायिक सुजवुझपूर्ण व्यवस्थापन गर्न सके नेपाली राजनैतिक आलोकमा यो एकता नवीनतम प्रयोग र सिद्घान्त केवल जडताको रुझानबाट आफुलाई उठाउन सक्दा धुर्विकरणको सार्थक अर्थ सावित हुने छ ।
खर्चिलो राज्यब्यबस्था र चुनौती
यो निर्वाचनमा संघिय प्रणालीमा गए अनुसार अहिले ७ वटा प्रदेस र राजधानी पनि तोकिसकेको अवस्थामा ८८४ जान सभासद र झन्डै १३३ जनाको मन्त्रि मण्डल रहने छन | यो सबै ब्यबस्थापन गर्न जसको तलब सुबिधा र सबै खर्चहरु लाइ हिसाब गर्दा झन्डै ४ खर्ब लाग्ने अनुमान गरिएको छ जुन अहिलेको भन्दा ४ गुणा बढ्ने छ | नेपालको अहिलेको अवस्थामा खर्चको ब्यबस्थापनमा एउटा ठुलो चुनौती थपिएको छ नै र सोहि मुताबिक जनताले आशा गरे अनुसार बिकास योजना अगाडी बढ्न सक्छ कि सक्दैन अर्को मुख्य बिषय हो | आफनै बजेट बनाएर बिकार निर्माण र खर्च हरु धन्न सक्ने सम्भावना कति छ भन्ने प्रस्न आफ्नो ठाउमा छ | अहिले भै रहेको गाउ पालिकामा गएको बजेटहरु सहि सदुपयोग हुनसकेको छैन | अहिले जसरि हरेक तह तप्कामा भ्रस्टचार भै रहेकोछ त्यसरी नै राज्यहरुमा यतिका सयन्त्र थपिदा त्यो भ्रस्ट्रचार गर्ने ठाउ अझ फराकिलो नहोस भन्ने अर्को चुनैती थपिएको छ र त्यसर्थ जुन स्पिरिट्समा संघियतामा गएको छ त्यसको बिपरित यी बिबिध कारणहरुले नकारात्मकता तर्फ उन्मुख हुदै गए देस फेरी कयौ दसक उठ्न नसक्ने गरि थचक्कै बस्ने छ सो सचेत हुनु जरुरि छ होइन भने राजनैतिक फेलुअर हुने डर त्यतिकै छ | केन्द्रिकृत शाशनप्रणालीको बिकल्पको रुपमा जनताले राज्यको सहज पहुच र सहजताको लागि विकेन्द्रीकरण प्रणालीमा जानु बिकल्प थिएन तर यो आफैमा कति बैज्ञानिक सम्बत गरिएको छ भन्ने मुख्य बिषय हो | नेपालको भौगोलिक अवस्था आय श्रोत र जनसख्या जस्ता अधारमा भन्दा पनि कुनै दल र ब्यक्तिको हाबी भएर अनुमानको अधारमा गरिनु भन्दा पनि हुनु के पर्थ्यो भने केहि विभिन्न क्षेत्र बिग्यहरुलाई समुहलाइ संगठित गरि बृस्तृत अध्यान गरेर उनीहरुको सुझाबमा मात्रा कार्यन्वयन गरिनु पर्थ्यो | कुनै पनि देसको राजनैतिक पार्टीले पोलिसी बनाउने हो खाका सम्बन्धित बिग्यहरुले दिने हो र लागु सरकार ले गर्ने गराउने हो | जुन कुरा अहिलेका नेताहरुले बुझ्नु अति जरुरि छ |
बिकास निर्माण र ब्यबस्थापन
धेरै गुमाएर केहि प्राप्त भएको छ केहि भएको छ भने संबिधान लेखेर अहिले निर्वाचन सम्पन्न भएको छ | अब यो संबिधानको कार्यान्यन संगै बिकासको योजनाहरु ल्याउनु अर्को ठुलो चुनौति अगाडी देखिएको छ | बिनोद चौधरीको, खेतान, महतो र बैध जस्तो केहि धनाढ्य व्यक्तिको आयश्रोत लाइ सारा नेपालीलाइ भाग गरेर ७% आय बृद्दी भयो भनेर तथ्यमा भन्दा पनि मिथ्यांकमा रमाउनु आँफैमा हास्यस्पद छ् | बिकास हुनको लागि ढुकुटीमा टन्न क्यास हुन् पर्छ अनि मात्र बिकास गर्न सकिन्छ भन्ने मात्र होइन | | बिकासकको खाका कसरी कोरिन्छ र ब्यबस्थापन लाइ कसरि गरिन्छ भन्ने कुरा मुख्य हो | आजको बिकसित धनि रास्ट्र सबै हिजो सबै धनि थिए र बिकसित भएको भन्ने पटक्कै होइन | यति हो विकासको कुरा सुने, सपना देखे र बिग्यहरु लाइ राखेर खाका कोरे र बिकासलाइ चाहिने कुराको ब्यबस्थापनलाइ जोड दिए र् बिकास गरे | तर फरक हामी आफ्नो मान्छे लाइ मात्र राज्यको हरेक ठाउमा राजनीति नियुक्ति गरिन्छ चाहे सुरक्षा निकाय ठाउमा होस् चाहे अदालत जस्तो ठाउमा होस चाहे राजदुत छनोट होस् चाहे कुनै सस्थान होस् चाहे कुनै स्थान होस् हरेक ठाउमा नियुक्ति गर्दा खुलेआम पैसाको खेल हुन्छ | त्यसैले जनताले तपाइहरु बाट धेरै आशा गरेका छैनन सबै भन्दा पहिले अहिलेका नेता र कर्मचारी हरुको भ्रस्ट आचरण सुधार गरेर बिभिन्न क्षेत्रमा भ्रस्टचार रहित समाज भएको हेर्न चाहन्छन | अहिले दलहरुले घोषणा पत्रमा लेखे जस्तो ५ बर्ष भित्रमा पुर्ब देखि पश्चिम सम्म रेल कुदीहाल्ने पनि होइन | धेरै ठुला उद्योग धन्दा खोलेर रोजगारी दिन्छु भनि रहनु भन्दा पनि हाम्रो वरिपरी मै भएको श्रोत र साधन बाट हुन सक्ने कुराहरु धेरै छन् त्यसैलाइ अध्यान गरि सम्भावना हेरेर प्रोहोत्सान गर्ने र उचित ब्यबस्थापन मात्र हुन सके पनि धेरै हुन्छ | सामान्य रुघा-खोकी, झाडा-पखाला र जरो आउदा आफ्नो नजिकै स्वास्थ्य चौकी बाट सेवा प्रदान गर्न सके मात्र पनि धेरै हुन्छ | अहिलेको २१औं सताब्दीमा सामान्य अफिसमा काम गर्नको लागि पनि कम्प्युटर शिक्षा अपरिहर्य भै सक्यो सोहि अनुरुप शिक्षा प्रणाली सुधार गर्नु पर्ने जरुरीछ | मुख्य जीविकाको मुख्य श्रोत कृषि लाई बिउ बिजन र मल सुलभ गरि ग्यान र सिप मुलक तालिमको ब्यबस्था गरि अधुनिकरण गर्दै लाग्न सके पनि धेरै हुन्छ | राज्यको लाइफलाइनको रुपमा रहेको राजमार्गहरुको अलिकति मर्मत सम्हार र ब्यबस्थित गरि हुम्लाको स्याउ तराइमा खान पाइयोस | तराइको दालचामल हुम्लामा खान पाइयोस | धार्मिक टुरिस्टहरुको सेन्टिमेन्ट लाइ क्यास गर्दै संसार भरि भएको बुद्धिस्टहरु लाइ बुद्ध जन्मिएको देस लुम्बिनी हेर्न आउन प्रोहित्सान गर्ने | हिन्दुधर्मालम्बी हरुलाई पशुपतिनाथ मुक्तिनाथ र राम जानकी मन्दिरमा आउन आब्हान गर्ने | संसारकै अग्लोहिमाल सागरमाथा लगाएत अन्य रमणीय स्थानहरुलाई प्रमोट गर्ने र ब्यबसायिक रुपमा प्रोहोत्सान गर्ने हो भने यीनै स-साना कुरा बाट नै सुरु गरे सोचे भन्दा धेरै हुनेछ | त्यसर्थ केहि गर्छु भन्ने सोच हुनुपर्यो अनि योजनाहरु बुन्नु पर्यो अनि लागु गर्ने इछ्य शक्ति त्यति भएपछी बिकासले आफै गति लिदै जादैछ र केहि परिबर्तन अनुभुति हुदै जानेछ र माहोल बन्दै आफै अगाडी बढ्ने छ |
आदिबासी जनजातीहरुको मुद्दा बिलिन
यो निर्वाचन संग संगै आदिबासी जानजातिहरुको कंयौ मुद्दाहरु अवसान भएको छ | हिजो सम्म सबै आन्दोलनमा थियौ र त्यो चरण पार गरि संविधानको निर्माण गर्यौं र अहिले त्यसको औचित्य पुस्टि गर्न त्यो संबिधानको संरचना अनुसार यो निर्वाचन भएको छ र सोहि अनुसार अब देसको बिभिन्न तह तप्काहरु मा त्यसरी नै अगाडी बढ्ने छ | सोचनीय बिषय भनेको के साच्चै नै संघियतामा जादैमा संबिधान जारि गर्दै गर्दा हिजो त्यो आन्दोलनको क्रममा उठेका मुद्दाहरु सबै समेटिएको छ त ? अल्पबिकसित सिमन्कृत बर्ग को मुद्दा सम्बोधन भएको छ त ? मधेसी नेताको बदनाम छविको कारणले मधेसीहरुको मुद्दा बदनाम भयो तर बास्तव समस्या त ज्युका त्यु छ | के छुत अछुत बन्द भयो भन्दैमा ब्यबहारमा लागु भयो त ? हिमाल पारीको बर्ग ठाउमा बसेर सोचौ ? के कुनै कोटा वा आरक्षण छुट्याउदैमा त्यसको सहि सदुपयोग भएको छ कि छैन संबिधानमा लेखिएको कति पय कुराहरु त्यो बर्गको पहुचमा छ कि छैन त यथार्थमा कति ब्यबहारिक छ भन्ने कुरा गौर हो | हिजो जसरि जनजातिको मुद्दाहरु जति उर्लिएको थियो आज ठिक त्यसरी नै सिलाउदै गएको छ | माओबादीले आन्दोलनको चरणमा केहि मुद्दा उठान गरेता पनि पछिल्लो चरणमा मुद्दाहरु छोड्दै गयो | जनसख्याको हिसाबले जनजाति आदिबासीहरुको बाहुल्यता भएको भएता पनि निरन्तर मुद्दामा अडिग रहेर अनन्तकाल सम्म स्थापित गर्न सकेनन | मुद्दामा अडिक रहने नेताहरुको कमि रह्यो जे जति अदिबासी जनजाती को नेता भनेर उदाएका थिए बिस्तारै बिलिन भए | अर्को बिडम्बना राजनैतिक पार्टी भित्र जे जति जनजाती नेताहरु छन् गहन रुपमा प्रस्तुत गर्न नै सकेका छन् | न त आफ्नो मुद्दाहरु बुझाउन नै सके ? अनन्न्त जसले संघियता, पहिचान र धर्म निरपेछ्यता कुरा उठायो उसलाई जातीय अतिबादी पगरी गुथाइयो र उपहासको पात्र बनाइयो | बदनाम गराइयो | अब संबिधान बन्यो देस बिकास गरेर अगाडी बढ्नु पर्छ र बिकास भए सबै कुरा साम्य हुन्छ मलजल भएर गयो | यस अर्थमा कतिपय मुद्दाहरु गहन भै कन पनि अवसान हुन पुग्यो |
कांग्रेसको हार र दायित्व
राजाको पाला देखि राजा र प्रजालाइ राजनीति सिकाउने कांग्रस पटक पटक बहुमत सहित सरकारमा बस्यो र इतिहासमा सबै भन्दा लामो समय सरकारमा राज पनि गर्यो र सबैभन्दा ठुलो पार्टी भनेर सरकारमा बसेर निर्वाचन गरि रहदा नतिजा अति नकारात्मक आउनुले कांगेसलाइ मात्र अस्चार्य तुल्याएन त्यसले अनेकन रहस्यहरुको उजगार गर्यो | हुन त कांग्रेसको यो नतिजा आउछ भनेर कांग्रेसजनले सपनामा पनि चिताएको थिएन होला त्यहि नै सबै भन्दा ठुलो कमजोरी रहयो | अर्को पक्षको चाललाइ बुझ्न सकेन र बुझ्न चाहेन पनि | सरकार बहिरा रहदा होस या सरकारमा रहदा होस् हरेक आलोकप्रिय निर्णय गरेर बिबाद हरुमा फस्न पुग्यो | नाबितम सोच र एजेन्डा बिना परा पूर्वकाल देखि नै राजा महाराजाहरु जसरि प्रस्तुत भए र त्यसरी नै कार्यकर्ता र भोटर लाइ आफ्नो खेताला ठान्ने प्रवृति र पुरानै ढर्रामा अगाडी बढ्यो तर मज्जाको बुझ्नु पर्ने कुरा के हो भने नि जे जातिले जिते आफ्नो बलभुताले जिते अन्यथा ठुलो हार बेहोरे र पनि समानुपातिक तर्फको मत लाइ आकलन गर्ने हो भने अझै पनि काँग्रस पार्टिमा आस्था राख्ने प्रतिसतको कमि छैन | यो अभिमत लाइ हेर्ने हो | सिधा अर्थमा भन्नु पर्दा अहिलेको नेताहरु लाई नारुचाइएको हो | नेतृत्व बर्गको असक्षमताको पुस्टि हो र अब तिमिहरु बुढा भयौ भनेको हो | अर्को वास्तविक कुरा के हो भने अहिलेका बिजयी बाम नेताहरु सबै कुनै ग्रह बाट आयातित त्यति सारै रुचाइएका नेता भने पटक्कै होइनन तर बिगत एक दसक देखि आफ्नो स्वार्थले एक दर्जन सरकार परिबर्तन भै रहदा जनता आजित भै सकेको थिए र बाम गठबन्धनले त्यहि सेन्टिमेन्टलाइ क्यास गर्दै स्थाइ सरकार र बिकासको नारा दियो | त्यसर्थ कांग्रसको यो कमजोरीहरुको फाइदा बामगठबन्धनको पोल्टामा गयो | संसारमा प्राय जहाँ पनि जति बिकास भएको छ २ वा ३ पार्टी सिस्टममा नै बिकास भएको छ | हाम्रो नेताहरुको बिगतको आचरण लाइ केलाएर हेर्ने हो भने कांग्रेस बहुमतको सरकार बन्यो र आफ्नै अन्तरिक कारणले आफैले थेग्न सकेन | माओबादीलाइ पनि भरि मतले बिजय गरायो तर आफ्नै कारणले बिलिन भयो र अहिले एमालेको बहुमत संगै बाम बहुमत आएको छ तर यो बहुमतको अहमताले बिगतमा झैँ आफ्नै स्वार्थको कारणले फेरी देस कयौं बर्ष पछाडी नधकेलियोस | कांग्रसको लागि एउटा शिक्षा पनि हो | र अवसर पनि हो | नेपालि कांग्रेस पुरानो पार्टी भएको कारणले पनि बाम गठबन्धनको सरकारलाइ सजग गराउदै आफ्नो यो अभिमतलाइ आत्मासाथ गर्दै नेपालको बिकास निर्माणमा सहकार्य गरि जिम्मेवारी बहन गर्नु अपरिहार्य छ |
समग्रमा, मेरो यी पंक्तिहरुले कुनै पुर्बग्रह र संका आशंका व्यक्त गरि रहनु भन्दा पनि बिगतको हाम्रो नेताहरुको अचारणलाइ केलाउदै गरिएको विश्लेषण हो र अगामी दिनमा बिगत इतिहासलाइ नदोहोरियोस र त्यसबाट सिकेर नेताहरुले अगाडी देखिएको चुनौतीहरु लाइ कति अनुसातित भएर कसरि ब्यबस्थापन गर्दछन त्यसैमा हामि सबैको भबिस्य निर्भर हुनेछ ।
