जापान,६ कात्तिक । जापानमा आइतबार सम्पन्न मध्यावधि निर्वाचनमा सत्तारुढ गठबन्धनले दुई तिहाई मतका साथ विजय हाँसिल गरेको छ ।
विपक्षीहरुको अनेक आरोपकाबीच प्रधानमन्त्री सिन्जो आवेको लिबरल डेमोक्रेटिक पार्टीको गठबन्धनले अनपेक्षित रुपमा दुई तिहाई बहुमत प्राप्त गर्दै सानदार जित गरेको हो । पार्टीले ३ सय १२ स्थानमा जित हात पारेको छ ।
जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान भएको थियो । जापानी प्रधानमन्त्री आवेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिना मात्र मध्यावधी निर्वाचनको आह्वान गरेको थियो । जित हात पारेपछि आबेले तेश्रो कार्यकालका लागि समेत पार्टीको नेतृत्व सम्हाल्ने लगभग निश्चित छ ।
यदि आबेले नेतृत्व सम्हाले जापानी इतिहासमा विश्वयुद्धपछि सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री बन्ने अवसर समेत प्राप्त भएको छ ।
यो जितसंगै जापानको संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा पूरा गर्न सहयोग मिल्ने बीबीसीले जनाएको छ । संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक हुन्छ ।
पछिल्ला केही समययता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनका विरुद्धमा आवश्यक सुरक्षा नीति अख्तियार गर्न निर्वाचन आहवान गरेको थियो ।
प्रधानमन्त्री आवेले जितपछि प्रतिक्रिया दिंदै उत्तर कोरियासँगको समस्या समाधान गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
