जापान,३० भदौ । उत्तर कोरियाले पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडेको छ । आज शुक्रवार बिहान ६ बजेर ५६ मिनेट जदा जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेका छन् ।
जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनाले जनाएको छ । मिसाइल जापानको होकाइडो द्वीपको माथिबाट गएको थियो । दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ । जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गर्ने बताएको थियो ।
सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा झनै कडा रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिएको हो ।
अमेरिकाको प्रस्तावमा त्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको थियो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सोमबार सर्वसम्मत निर्णय भएपछि उसले भनेको थियो– ‘यसका विरुद्धमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’
सोमबार चीन र रुसको पनि सहमति र उक्त परिषद् वैठकको सर्वसम्मतिमा उक्त कानुन पारित गरिएको हो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ ।
