काठमाडौँ,२९ भदौ । आगामी असोज २८–३१ अर्थात अक्टोबर १४–१७ मा काठमाडौमा हुन गईरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन नजिकिदै जाँदा चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ । सम्मेलन नजिकिएसँगै विभिन्न पक्षबाट उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । उम्मेदवारी घोषणसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको हो ।
विश्वभरबाट यतिबेला एनआरएनए नेपाल आउने क्रम बढेको छ । विशेष गरि एनआरएनए सम्मेलन दसै लगत्तै परेकाले महान पर्व वडादशैअघि नै नेपाल आउने क्रम बढेको हो । सम्मेलन आउँन एक महिना मात्र बाँकि रहँदा यतिखेर अध्यक्षबाहेक अन्य पद्का लागि आआफनौ तौरतरिकाबाट उम्मेदवारी घोषणा भइरहेका छन् । एनआरएनएमा विभिन्न पक्षबाट स्वतन्त्र तथा कसैले प्यानलबाट सामाजिक सञ्जालमा आफनो उम्मेदवरी घोषणा गरिहेका हुन् ।
दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को महासचिव पदमा त्रिलोक (यमकुमार) गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । हङकङमा लोकप्रिय मानिदै आउनुभएको गुरुङले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहाँ दुई कार्यकालसम्म गैरआवासीय नेपाली संघ हङकङको अध्यक्ष रहनुभएको थियो । गुरुङ सन् २०११ देखि १३ सम्म एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय संयोजकसमेत हुनुहुन्थ्यो । त्यसपछि लगातार दुई कार्यकाल गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सल्लाहकार हुनुभयो ।
संघको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली अभियानमा सक्रिय गुरुङले यसपटक महत्वपूर्ण पदमा रहेर संघलाई योगदान दिने उद्देश्यस्वरुप उम्मेदवारी घोषण गरेको बताउनुभएको छ ।
एनआरएनए हङकङको अध्यक्ष, एसिया प्रशान्त क्षेत्रको संयोजक हुँदै अन्तराष्ट्रिय समन्वय परिषदमा दुई कार्यकाल सल्लाहकार रहनुभएको गुरुङ हङकङ र मकाउमा निर्माण र सुरक्षा सम्बन्धी क्षेत्रमा व्यवसाय गर्दै आउनुभएको छ । गोरखाको लाप्राकमा नमूना वस्ती निर्माणमा एनआरएनएका अध्यक्ष शेष घलेसँगसँगै सक्रिय गुरुङ हालै तराईमा बाढी प्रभावितलाई राहत वितरणमा एनआरएनए टोलीमा संलग्न रहनुभएको थियो ।
त्यस्तै, एनआरएनएको महिला संयोजकमा भुमा लिम्बुको चर्चा छ । उहाँले सामाजिक सञ्जालमा आफनो दावी रहेको बताएपनि आधिकारिक रुपमा भने उम्मेदवारी घोषणा गर्नुभएको छैन् । जनता टाईम्ससँग कुरा गर्दै लिम्बुले आफनो महिला संयोजकमा उम्मेदवारी रहेको बताउनुभएको छ ।
अष्ट्रेलिया बस्दै आउनुभएको लिम्बु सन् २००७ देखि एनआरएनएको अभियानमा संलग्न हुँदै आउनुभएको छ । चुनावबाट सचिव लडेर आधिकारिक रूपमा एनआरएनमा संलग्न भई सचिवको कार्यकालपछि उपाध्यक्ष पदमा लडनुभएको थियो । त्यसपछि अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी ) सदस्य हुनुभएको थियो ।
केही समय ओसियान रिजनको डिपुटी रिजनल कोअर्डिनेटरसमेत रहनुभएको उहाँले नेपालीको हरेक दुखमा साथ दिदै आउनुभएको छ । उहाँले भूकम्पताका होस वा नाकाबन्दीताका होस वा केहि समयअघिको बाढीपहिरोताका किन नहोस हरेक विपत्ति तथा संकटमा नेपाल आएर सेवा गर्दै आउनुभएको छ ।
त्यसै सिलसिलामा एनआरएनए मध्यपुर्वका उपसंयोजक रहनुभएको धर्मराज गिरीले मध्यपपूर्वको लागि संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । गिरीले विभिन्न आफना १२ बुँदे एजेन्डा अघि सार्दै आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
गिरी गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको संस्थापक उपाध्यक्षसमेत हुनुहुन्छ । विश्व सम्मेलनका लागि खाडी राष्ट्रहरुको तर्फबाट संयोजक पदमा उम्मेदवारी घोषणा गरेको र आफूलाई सबैको समर्थन रहने गिरीले बताउनुभयो ।
यता युरोपेली क्षेत्रीय संयोजकमा हरि पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेदरल्याण्ड्सबाट पौडेलले आगामी गैर आवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलनमा संयोजकको लागि उम्मेदवारी घोषण गर्नुभएको हो । युरोपमा बसोबास गर्दै आउनु भएको पौडेल गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्स पुर्व अध्यक्ष तथा युरोपेली डायस्पोरामा समाजसेवी तथा सामाजिक अभियन्ताका रुपमा चिनीनुहुन्छ ।
विषेश गरेर सवैको एनआरएन बनाउने, नेपालमा लगानीको मात्रै कुरा भन्दा पनि प्रवासमा रहँदा अवैधानिक बसाइ लगायत स्वास्थ्य, भाषा, कानुनी सहयोग जस्ता कुराहरुलाई पनि साथ साथै लगेर एनआरएनलाई सवैको आकर्षण तथा भरोषाको केन्द्र बनाउने लक्ष्य रहेको उहाँले बताउनुभएको छ ।@janatatimes
