काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई यस्तो आह्वान गरेका हुन् ।
उनले भनेका छन्, ‘नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता–कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु ।’
उनले सरकारको अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भत्र्सनायोग्य रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व हो । तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भत्र्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।’
यस्तो छ ओलीको भनाई
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता, आज सिरहाका गणेश यादवको गोली लागेर भएको दुःखद निधन र अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।
अमानवीय क्रम रोकिनुको सट्टा झन् उग्र बन्दै आज सिरहा लगायतका विभिन्न स्थानहरूमा समेत गोली लागी थप नागरिकहरूको ज्यान गएको खबरले हामीलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ । यस हिंसामा ज्यान गुमाउनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
यस जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूसँग म निम्नअनुसार अपील गर्दछु:
१. संयमता र सामाजिक सद्भाव:
नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता-कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु ।
२. सरकारको गैरजिम्मेवार भूमिका र मौनता:
नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व हो । तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भर्त्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।
३. दलहरूबीच राजनीतिक सहकार्य:
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप-प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ ।
४. राष्ट्रिय एकता र शान्तिका लागि आह्वान:
द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन । संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ । राष्ट्रको अस्तित्व, शान्ति-सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।

