काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
बुधबार बिहान रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रचण्डले प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्नेमा त्यसो नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले अपेक्षा अनुसार सरकार प्रभावकारी नदेखिएको बताए । उनले भने, ‘विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौं। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ । तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ । प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन ।’
उनले सुनसरीमा देखिएको घटनामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताए । उनले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिने बताए ।
प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने बताए । प्रचण्डले घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक रहेकोमा जोड दिए ।

