काठमाडौं । बौद्ध महांकाल जात्रा मूल समारोह समिति २०८३ ले ऐतिहासिक बौद्ध महांकाल जात्रा आयोजना गर्ने भएको छ। समितिले सार्वजनिक गरेको निमन्त्रणाअनुसार श्रावण तृतीया २०८३ साउन १६ गते शनिबार महांकाल चौर, काठमाडौंमा विशेष पूजा तथा रथयात्रासहित जात्रा सञ्चालन गरिनेछ।
समितिले जात्रामा सहभागी भई गरिमामय उपस्थिति जनाउन तथा प्रसाद ग्रहण गर्न सम्पूर्ण भक्तजन, स्थानीयवासी र शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रमअन्तर्गत बिहान ८:०० बजेदेखि पूजा–साधना सुरु हुनेछ भने दिउँसो १:०० बजे रथयात्रा प्रारम्भ गरिने जनाइएको छ।नेपालको सांस्कृतिक तथा धार्मिक सम्पदाको महत्वपूर्ण पर्वका रूपमा परिचित बौद्ध महांकाल जात्राले परम्परा संरक्षण, धार्मिक आस्था अभिवृद्धि तथा समुदायबीच सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।
मुल समारोह समितिका अनुसार लामा, बज्राचार्य तथा ब्राह्मण गुरुहरूबाट आ–आफ्नो धार्मिक विधिअनुसार संयुक्त रूपमा महांकालको पूजा–आराधना गरिनेछ। तीन फरक धार्मिक परम्पराबाट एउटै देवस्थलमा पूजा गरिने यो परम्पराले नेपालमा विद्यमान धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने विश्वास गरिएको छ।
कार्यक्रमअन्तर्गत बौद्ध महाकाल चौरमा तीनवटै विधि–पद्धतिअनुसार विशेष पूजा सम्पन्न भएपछि महांकालको प्रतिमालाई परम्परागत खटमा विराजमान गराई भव्य जात्रा निकालिनेछ। जात्रामा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा, बाजागाजा तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रम विवरण:
मिति: २०८३ श्रावण तृतीया (साउन १६), शनिबार
पूजा–साधना: बिहान ८:०० बजेबाट
रथयात्रा: दिउँसो १:०० बजेबाट
स्थान: महांकाल चौर, काठमाडौं
मुल समारोह समितिका अनुसार जात्रा महाकाल चौरबाट सुरु भई रामहिटी, तीनचुली, आनन्दपुर, भुवलडाँडा, जोरपाटी, अरब बैंक, बौद्ध पिपलबोट हुँदै बौद्ध स्तूप परिसरको परिक्रमा गर्नेछ। त्यसपछि टुसाल, चुच्चेपाटी र पानीट्याङ्की हुँदै पुनः महाकाल चौरमा पुगेर जात्राको समापन गरिने कार्यक्रम तय गरिएको छ।
आयोजकले सम्पूर्ण श्रद्धालुहरूलाई जात्रामा सहभागी भई धार्मिक तथा सांस्कृतिक उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।

