सोमबार, जेठ ०४, २०८३

गाेदावरी -३ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक एवं अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम

गाेदावरी । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ ले वडावासी ज्येष्ठ नागरिकहरुको अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

वडाले शनिबार जेष्ठ नागरिकहरुलाई काठमाडौंकाे उत्तरी क्षेत्रतार्केश्वरमा रहेकाे शान्तिधाम अवलोकन भ्रमण गराउनुका साथै सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो । नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनालय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दरमुक्ति सरोवर निर्माण गरिएको धार्मिक एवं पर्यटकीय स्थल शान्तिधामको अवलोकन गर्न पाउँदा वडावासी ज्येष्ठ नागरिकहरु निकै खुशी देखिन्थे ।

अवलोकन भ्रमण जेष्ठ नागरिकहरूमा आत्मीयता, उत्साह र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले राखिएको आयोजकले जनाएको छ। शान्ति धामको धार्मिक वातावरणमा पूजा–अर्चना गर्नुका साथै आपसी भेटघाट र अनुभव आदानप्रदानका साथै साँगीतिक भजनकृतनमा मन्त्रमुन्ध भएर उनीहरूले नाचगान गरेका थिए। भ्रमणले आफूहरूलाई मानसिक शान्ति र खुसी प्रदान मिलेकाे उनीहरू बताउँछन् ।

नागरिकहरू समाजका अनुभव र ज्ञानका धरोहर भएकाले उनीहरूको सम्मान र संरक्षण स्थानीय सरकारको प्राथमिकतामा पर्ने वडा अध्यक्ष राज घिमिरेले बताए । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले यस कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई धार्मिक अवलोकनको अवसर मात्रै नभएर उनीहरूबीच आपसी अन्तरक्रिया र सामाजिक बन्धनलाई पनि मजबुत बनाएको बताए । वडा अध्यक्ष घिमिरेले भने-`बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित होइन्छ। हुर्केबढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर छैन।´ यी सबै कुरालाई मनन गरी वडाले ज्येष्ठ नागरिकलाई ‘एक दिन भ्रमण’ कार्यक्रम गरेको उनले बताए ।

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, मानसिक सन्तुलन र सांस्कृतिक सम्पदासँगको सम्बन्धलाई प्रोत्साहन दिने उद्देश्यले सञ्चालित यस्ता कार्यक्रमले उनीहरूलाई सम्मान र आनन्द प्रदान गर्ने वडा अध्यक्ष घिमिरे बताउँछन् । स्थानीय तहहरूले बजेटको व्यवस्था गरी यस्ता कार्यक्रम सञ्चालन गर्न थालेपछि ज्येष्ठ नागरिकहरूले आफूलाई समाजको सम्मानित सदस्य ठानेका छन् ।

स्थानीय तहहरूको यस्ताखाले प्रयासले ज्येष्ठ नागरिकहरूको सम्मान र कल्याणलाई प्राथमिकता दिइरहेको स्पष्ट छ । आगामी दिनमा पनि देशभरका वडा र स्थानीय तहहरूले यस्ता धार्मिक तथा अवलोकन भ्रमण कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया